वीरगञ्ज । शाश्वत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मुना कुमार सर्राफको अध्यक्षतामा सम्पन्न सभामा नेपाल पत्रकार महासङ्घ पर्साका निवर्तमान अध्यक्ष अनुप तिवारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा संस्थाको आर्थिक, प्रशासनिक तथा भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो। कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनअनुसार वैशाख मसान्तसम्म संस्थाको कुल शेयर पुँजी ३६ लाख २९ हजार ६ सय रुपैयाँ पुगेको छ भने जगेडा तथा अन्य कोषहरूमा २ लाख ६९ हजार २ सय ७९ रुपैयाँ सञ्चित रहेको छ।
संस्थाले सदस्यहरूबाट ८ करोड ६७ लाख १० हजार ६ सय ५७ रुपैयाँ बचत संकलन गर्न सफल भएको छ। उक्त बचत रकममध्ये ४ करोड ४५ लाख ६७ हजार २ सय १५ रुपैयाँ ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ। साथै संस्थाको शेयर लगानी १ लाख २० हजार रुपैयाँ रहेको जनाइएको छ।
त्यसैगरी संस्थाको नगद तथा बैंक मौज्दात १ करोड ५५ लाख ८९ हजार ५ सय ३८ रुपैयाँ रहेको छ। वैशाख मसान्तसम्म संस्थाको कुल वासलात (दायित्व तथा सम्पत्ति) करिब १० करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। संस्थामा हाल १ हजार ६ सय ५३ जना शेयर सदस्य आबद्ध रहेका छन्, जसमध्ये १ हजार ९५ जना महिला र ५ सय ५८ जना पुरुष सदस्य रहेका छन्।
प्रमुख अतिथि अनुप तिवारीले सहकारी संस्थाले सदस्यहरूलाई सहज रूपमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा सुरक्षित र उत्पादनमूलक क्षेत्रमा ऋण लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले सहकारी क्षेत्रप्रति आमनागरिकको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र वित्तीय अनुशासन अपरिहार्य रहेको बताए।
सभामा बोल्दै अध्यक्ष मुना कुमार सर्राफले वीरगञ्ज महानगरपालिकाले सार्वजनिक गरेको निष्क्रिय सहकारी संस्थासम्बन्धी सूचना स्पष्ट र तथ्यपरक नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराए। उनले निष्क्रिय र नियमित सञ्चालनमा रहेका संस्थाहरूलाई एउटै सूचीमा राख्दा सहकारी क्षेत्रबारे गलत सन्देश प्रवाह भएको बताए।
अध्यक्ष सराफले केही संस्थामा कागजी प्रक्रिया, नवीकरण तथा प्रशासनिक काममा भएको ढिलाइका कारण निष्क्रियको सूचीमा समावेश गरिनु गलत भएको उल्लेख गर्दै यस्ता त्रुटिहरू सच्याउन सम्बन्धित निकायसँग माग गरे। उनले शाश्वत बचत तथा ऋण सहकारी संस्था नियमित रूपमा सञ्चालनमा रहेको, सदस्यहरूको बचत तथा कारोबार पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारे।
साथै अध्यक्ष सर्राफले सदस्यहरूलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइएका भ्रामक तथा अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरे। संस्थासम्बन्धी कुनै जिज्ञासा, गुनासो वा समस्या भए प्रत्यक्ष रूपमा कार्यालयमा सम्पर्क गरी यथार्थ जानकारी लिन अनुरोध गर्दै उनले सदस्यहरूको विश्वास नै संस्थाको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए।
कार्यक्रममा विशिष्ट अतिथि दुर्गा प्रसाद जयसवाल, अभिभावक संघका अध्यक्ष सन्दीप साह, लगायतले सहकारी क्षेत्रको सुदृढीकरण, सदस्य हित संरक्षण र संस्थागत पारदर्शिताको विषयमा धारणा राखेका थिए।
कार्यक्रमको विशिष्ट अतिथिमा डिभिजन सहकारीक पूर्व प्रमुख दुर्गा प्रसाद जयसवाल, अभिभावक सङ्घ पर्साका अध्यक्ष सन्दिप शाह, सञ्चालक समितिका सदस्यहरू तथा अतिथिको रुपमा सुमन प्रसाद, दिनेशाह, महेश चौरसिया सञ्चारकर्मी कन्हैया पटेल राज सर्राफ लगायतको सहभागिता रहेको थियो।
सभाले संस्थाको वर्तमान अवस्था, देखिएका चुनौती तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गर्दै सदस्य हित, वित्तीय अनुशासन र संस्थागत सुशासनलाई थप सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको सञ्चालन आकाश सराफले गरेका थिए भने शुभकामना मन्तव्य सिकेन्द्र दासले गर्नुभएको थियो।