जनकपुरधाम । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारलाई विभिन्न शीर्षकमा ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँभन्दा बढी अनुदान तथा राजस्व बाँडफाँट उपलब्ध गराउने भएको छ ।
संघीय सरकारद्वारा सार्वजनिक बजेट तथा वित्तीय हस्तान्तरण विवरणअनुसार मधेश प्रदेशले समानीकरण अनुदान अन्तर्गत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै, राजस्व बाँडफाँट मार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने भएको जनाएको छ ।
त्यसैगरी, संघीय सरकारले सशर्त अनुदान शीर्षकमा ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । विभिन्न विकास आयोजना तथा कार्यक्रम सञ्चालनका लागि विशेष अनुदान अन्तर्गत ७० करोड रुपैयाँ तथा समपूरक अनुदान अन्तर्गत ९४ करोड रुपैयाँ उपलब्ध गराइने भएको छ ।
समग्रमा मधेश प्रदेशले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष, सम्पूरक अनुदान तथा राजस्व बाँडफाँट गरी कुल ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।
प्रदेश सरकारका लागि प्राप्त हुने यी स्रोतहरू पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा अन्य सार्वजनिक सेवा प्रवाहका कार्यक्रम सञ्चालनमा खर्च गरिने अपेक्षा गरिएको छ ।