विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का सांसद हर्कराज राई (हर्क साम्पाङ) लाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ । सवारी चलाउँदा अपनाउनुपर्ने न्यूनतम सतर्कता समेत नअपनाई लापरबाहीपूर्ण ढङ्गले सवारी चलाएको भन्दै उनलाई कारबाही गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार साम्पाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम जरिवाना गरिएको हो ।

गत जेठ २२ गते उदयपुरको बेलकामा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी हुन जाने क्रममा सांसद साम्पाङले आफैँ सवारी चलाएका थिए । सो क्रममा उनले एक हातले स्टेयरिङ समातेर अर्को हातले मोबाइल फोनमार्फत भिडियो बनाउँदै सवारी चलाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जिम्मेवार पदमा बसेको व्यक्तिले नै ट्राफिक नियमको धज्जी उडाएको भन्दै सर्वत्र आलोचना भएपछि ट्राफिक प्रहरीले अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने सम्बन्धी व्यवस्था छ । सोही दफाको उपदफा (१) को खण्ड (द) मा ‘लापरबाही साथ सवारी चलाएको’ अवस्थामा ट्राफिक प्रहरीले तत्काल जरिवाना गर्न सक्ने उल्लेख छ ।
एसपी दीपक गिरीले भने, ‘ऐनको दफा १६४ (द) अनुसार उनलाई पहिलो पटकको कसुरबापत ५ सय रुपैयाँको जरिवाना पूर्जी काटिएको छ ।’ ऐनमा उल्लेख भए अनुसार यस्तो कसुर गर्नेलाई पहिलो पटक ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ, तेस्रो वा सो भन्दा बढी पटक १ हजार ५ सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।



प्रहरीले पूर्जी काटेपछि जरिवाना रकम तत्काल बुझाउन नसक्नेका लागि २४ घण्टाभित्र सम्बन्धित प्रहरी कार्यालय वा तोकिएको अधिकारीसमक्ष बुझाउनुपर्ने प्रावधान छ । एसपी गिरीका अनुसार यो रकम प्रहरी कार्यालयमै आउनु नपर्ने बरु तोकिएको बैंक खाता वा ई–सेवा जस्ता डिजिटल माध्यमबाट राज्यको ढुकुटीमा जम्मा गरे हुनेछ ।
सांसद साम्पाङमाथि भएको यो कारबाहीले कानुनको नजरमा कोही पनि माथि हुँदैन भन्ने सन्देश दिएको ट्राफिक प्रहरीको बुझाइ छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरूले ट्राफिक नियमको पालना गर्दा त्यसले आम नागरिकमा पनि सकारात्मक प्रभाव पर्ने र सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।