वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला सभापतिमा सांसद हरि पन्तको प्यानल विजयी भएको छ । जिल्लाको तीन सांसदको गठबन्धनलाई भत्काउँदै संस्थापन पक्षका सांसद पन्तको प्यानले जीत हासिल गरेको हो ।
मंगलबार बिहान सम्पन्न मतपरिणाम अनुसार जिल्लाका तीन सांसदहरू रामाकान्त चौरसिया, टेकबहादुर शाक्य र सुशील कानुको गठबन्धनलाई तोड्दै कार्यसमितिमा संस्थापन पक्षका उम्मेदवार सांसद पन्तको प्यानल विजयी भएको हो।
आफ्ना निकटम प्रतिद्वन्द्वी भन्दा ४८ मत बढीले सांसद पन्त जिल्लाको सभापति पदमा निर्वाचित भएको रास्वपा निर्वाचन समिति संयोजक नन्दन यादवले जानकारी दिएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी सांसद सुशिलकुमार कानुले ११८ मत ल्याउँदा पन्तले भने १६६ मत प्राप्त गरेका हुन । यसैगरी उपसभापतिमा पन्तकै प्यानलका दिलीपकुमार कुर्मी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी रंदीप श्रीवास्तवले ११४ मत ल्याउँदा कुर्मीले १६२ मत प्राप्त गरी ४८ मतको मतान्तरले जित प्राप्त गरेका हुन् ।
सचिवमा सुदिशकुमार प्रजापति विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी शिवकुमार साह भन्दा ४४ मत बढी प्राप्त गरी जित सुनिश्चित गरेका हुन् । त्यसैगरी सहसचिवमा कृष्णा पासवान विजयी भएका छ्न् । अर्का प्रतिस्पर्धी नीरज कुमार साह भन्दा ३६ मत बढीले जित हासिल गरेका हुन् ।
सदस्यहरूमा भने सबै भन्दा लोकप्रिय मत प्राप्त गरी पन्त समूहकै तुलसा पौडेल अधिकारी विजयी बनेकी छन् । अधिकारी सदस्यहरूमध्ये सबै भन्दा बढी लोकप्रिय १६० मत प्राप्त गरेकी हुन् । यसैगरी विजयी सदस्यहरूतर्फ प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी विजयी भएकी छन् ।