पर्सा । पकाहाँ मैनपुर गाउँपालिकामा सार्वजनिक जग्गा खाली गराउने विषयलाई लिएर गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता र वडा नं. २ का वडा अध्यक्ष मुकुट प्रसाद चौहानबाट फरक–फरक धारणा सार्वजनिक भएपछि स्थानीयवासी अन्योलमा परेका छन्।
गाउँपालिका अध्यक्ष मेहताले जेठ १८ गते जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गर्दै नाप–नक्सा, सीमाङ्कन तथा आवश्यक अध्ययन पूरा नभएसम्म सार्वजनिक जग्गा खाली गराउने सम्बन्धी सूचना कार्यान्वयन नगर्न अनुरोध गरेका थिए। अध्यक्ष मेहताले सम्भावित विवाद, कानुनी जटिलता तथा स्थानीय व्यवसायीहरूको समस्यालाई मध्यनजर गर्दै थप अध्ययन र समन्वय आवश्यक रहेको उल्लेख गरेका थिए।
तर त्यसको केही दिनपछि वडा अध्यक्ष मुकुट चौहानले जेठ २५ गते सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा रहेका संरचना हटाउन निर्देशन दिएका थिए। यसले गाउँपालिका र वडा कार्यालयबीच एउटै विषयमा फरक धारणा रहेको देखिएको छ।
स्थानीयवासीहरूका अनुसार एउटै पालिकाभित्र दुई फरक निर्णय सार्वजनिक हुँदा नागरिकहरू अन्योलमा परेका छन्। एकातिर गाउँपालिका अध्यक्षले कार्यान्वयन रोक्न आग्रह गर्ने र अर्कोतर्फ वडा कार्यालयले संरचना हटाउन सूचना जारी गर्ने अवस्थाले प्रशासनिक समन्वयको अभाव देखाएको स्थानीयहरूको भनाइ छ।
स्थानीय स्तरमा कतिपयले यसलाई जनप्रतिनिधिहरूबीचको शक्ति प्रदर्शन वा राजनीतिक प्रतिस्पर्धाको परिणामका रूपमा समेत व्याख्या गरेका छन्। यद्यपि यस सम्बन्धमा दुवै पक्षबाट औपचारिक रूपमा त्यस्तो स्वीकारोक्ति भने आएको छैन।
सर्वसाधारणको चासो भने स्पष्ट छ ।
जनप्रतिनिधिहरूबीचको मतभेद वा राजनीतिक प्रतिस्पर्धाको असर आम नागरिक र व्यवसायीमाथि पर्नु हुँदैन। सार्वजनिक जग्गा संरक्षण आवश्यक भए पनि कानुनी प्रक्रिया, नाप–नक्साको यथार्थता र नागरिकको हितलाई ध्यानमा राखेर एकीकृत निर्णय लिनुपर्ने स्थानीयहरूको माग रहेको छ।
स्थानीयहरूको भनाइमा, "जनप्रतिनिधिहरूबीच समन्वय हुन नसक्दा पीडा सर्वसाधारणले भोग्नुपरेको छ। पालिकाले एकीकृत धारणा बनाएर नागरिकलाई स्पष्ट मार्गदर्शन दिन आवश्यक छ।"

