सिरहा । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश संगठन विस्तारका क्रममा विवाद र आन्तरिक किचलोमा फसेको छ ।
प्रदेशका जिल्लाका अधिवेशनहरूमा नेतृत्व चयनलाई लिएर झडप, आरोप–प्रत्यारोप र अधिवेशन स्थगनसम्मका घटना देखिएको हो ।
सोमबार सिरहा जिल्ला अधिवेशनमा दुई पक्षबीच कुटाकुट समेत भयो । केही नेता कार्यकर्ता घाइते भए । नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन आज(मंगलबार)सम्मका लागि स्थगित गरेको छ ।
सिरहा मात्र होइन, महोत्तरी, धनुषा, रौतहट, बारा, सर्लाही र पर्सामा पनि अधिवेशनलाई लिएर विवाद देखिएको छ ।
कतिपय स्थानमा समानान्तर समिति गठन, प्रतिनिधि छनोटमा असन्तुष्टि, कारबाही विवाद तथा निर्वाचित सांसदहरुले नै जिल्ला नेतृत्वमा आफ्ना निकटलाई स्थापित गर्ने प्रयासले समस्या बढाएको नेताहरूको भनाइ छ ।
तर केही नेताहरुले भने पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन साहबीच पार्टीभित्र आन्तरिक शक्ति संघर्षका कारण यस्ता समस्या जिल्ला अधिवेशनमा देखिन थालेको टिप्पणी गरेका छन् ।
सांसदहरूले नै अधिवेशन निर्वाचन प्रक्रियामा प्रभाव पार्न खोजेको आरोप पनि लाग्न थालेको छ । पार्टीको विस्तारको क्रममा नयाँ सदस्यहरूको आगमन र नेतृत्वप्रतिको आकांक्षाका कारण विवाद देखिएको नेताहरुले बताएका छन् ।