पर्सा । पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिका कार्यालयले वडा नं. २ को कार्यालयद्वारा सार्वजनिक जग्गाका संरचना हटाउने सम्बन्धमा जारी गरिएको सूचनालाई तत्कालका लागि स्थगित गरेको छ।
गाउँपालिकाका अध्यक्ष सुरेश प्रसादद्वारा हस्ताक्षरित एक सूचना जारी गर्दै वडा कार्यालयले एकल रूपमा सूचना निकालेको भन्दै उक्त कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो। वडा नं. २ को कार्यालयले गत जेठ २५ गते सरकारी सार्वजनिक जग्गामा रहेका संरचनाहरू हटाउने सम्बन्धी सूचना प्रकाशित गरेको थियो।
गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार सार्वजनिक सम्पत्ति र सरकारी जग्गा व्यवस्थापन गर्ने, संरचना हटाउने वा खाली गराउने जस्ता कार्यहरू गर्दा सम्बन्धित कानुनी प्रक्रिया पूरा गरेर मात्र कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ।
"वडा नं. २ को कार्यालयबाट प्रकाशित उक्त सूचना गाउँपालिकाको स्वीकृति तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी एकल रूपमा जारी गरिएको देखिएकाले उक्त सूचनाको कार्यान्वयन तत्कालका लागि स्थगित गरिएको छ," गाउँपालिकाको सूचनामा भनिएको छ।
गाउँपालिकाले सम्बन्धित विषयमा आवश्यक छानबिन, नापजाँच तथा कानुनी प्रक्रिया पूरा गरी गाउँपालिकाबाट छुट्टै निर्णय एवं सूचना प्रकाशित नभएसम्म कसैले पनि घर, टहरा, पर्खाल वा अन्य संरचना नहटाउन र हटाउन बाध्य पार्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको छ।
यदि कसैले उक्त सूचनाको आधारमा कुनै प्रकारको दबाब, क्षति वा अवाञ्छित गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत गाउँपालिकाले स्पष्ट पारेको छ। यो सूचना वडा नं. २ का सम्पूर्ण गाउँवासीको जानकारीका लागि प्रकाशित गरिएको हो र यसको बोधार्थ प्रमुख प्रशासकीय अधिकृत, वडा नं. २ को कार्यालय तथा जिल्ला प्रशासन कार्यालय, पर्सालाई दिइएको छ।