सर्लाही । सवारी दुर्घटनाको विषयलाई लिएर प्रहरीमाथि कुटपीट गरेको आरोप लागेपछि पूर्व मधेश प्रदेश सभा सदस्य एवं नेपाली कम्युनिस्ट पार्टीका नेता अशोक यादव फरार भएका छन् ।
प्रहरीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले यादवका भतिजा र भान्जालाई भने नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । सोमबार राति कविलासी नगरपालिका –८, अगर्वामा पार्किङ गरिएको ना. ६ ख. ७६२३ नम्बरको ट्रकमा पूर्व मधेश प्रदेश सभा सदस्य यादवको ज. १ त. २५५० नम्बरको ट्याक्टर गएर ठोक्किएको थियो ।
उक्त दुर्घटनापछि यादवसहित २०–२५ जनाको समूहले दुर्घटनास्थलमा खटिएका प्रहरीमाथि कुटपिट गरी ट्याक्टर लिएर फरार भएका प्रहरीको आरोप छ । उक्त घटनापछि थप मद्दतमा पुगेको प्रहरीले सोमबार रातिदेखि नै यादवसहित घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरेको थियो ।
त्यसक्रममा पूर्व प्रदेश सभा सदस्य यादवको भतिजा कविलासी नगरपालिका–१०, सलेमपुर बस्ने १९ वर्षीय बिक्रमकुमार यादव र भान्जा भारतीय नागरिक २१ वर्षीय प्रियांशु यादवलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध मङ्गलबार सर्लाही जिल्ला अदालतबाट अभद्र व्यवहार मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रहरीले फरार रहेका पूर्व प्रदेशसभा सदस्य यादवको सोमबार रातिदेखि खोजी जारी राखे पनि अहिले साँझसम्म उनी पक्राउ पर्न सकेका छैनन् । मङ्गलबार दिउँसो ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी यादवलाई पक्राउ गर्न भनी कविलासी नगरपालिका–१०, सलेमपुरस्थित घरमा पुगेको थियो ।
खानतलासी लिँदा यादव घरमा नभेटिएपछि प्रहरी टोली फर्किएको छ । प्रहरी कारबाहीमा बाधा पुगेको र प्रहरीमाथि हातपात गरेको आरोपमा यादवको खोजी जारी रहेको डिएसपी गौतमले बताउनुभयो ।
यादवले मङ्गलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै आफूले अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा प्रशासन र प्रहरीले अनेक लाञ्छना लगाएर फसाउने काम गरेको आरोप लगाउनुभएको थियो । यादव बारम्बार विवादमा परिरहने पात्र हुन् ।
गत वर्ष मात्र यादव पूर्वाधार विकास कार्यालय मलङ्गवामा कर्मचारीमाथि हातपात गरेका थिए । तत्कालीन जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौजमा उत्रिएको आरोपमा पक्राउ परेका थिए । त्यसबेला यादव करिब एक महिना प्रहरी हिरासतमा बसेर एक लाख ६० हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए ।