सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–१, झुट्कीस्थित एक पोखरी नजिकको केराखेतीमा लुकाइछिपाइ राखिएको अवस्थामा ठुलो परिमाणमा गाँजा बरामद गरिएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) बनैनियाँबाट सशस्त्र प्रहरी निरीक्षक अञ्जनजङ्ग शाहको नेतृत्वमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार झुट्कीस्थित सार्वजनिक पोखरी नजिक रहेको केराको घारीमा खानतलासी गर्दा कालो प्लास्टिकले छोपेर सेतो बोराभित्र लुकाइ राखिएको अवस्थामा ६ बोरा बेवारिसे प्रतिबन्धित लागुऔषध गाँजाजस्तो पदार्थ फेला परेको थियो।
बरामद गरिएको लागुऔषध नियन्त्रणमा लिएर नापजाँच गर्दा ९० वटा पोकामा प्याक गरिएको कुल १७९ किलो ५५० ग्राम गाँजा रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी झुट्कीलाई बुझाइएको छ। उक्त गाँजा कसले लुकाएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।