सर्लाही । सर्लाहीको ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा मङ्गलबार बिहानदेखि यातायात ठप्प भएको छ । लखन्देही खोलाको शीर तथा सिन्धुलीको मरिण क्षेत्रमा भारी वर्षा भइ बाढी आएपछि यातायात पूर्णरुपमा अवरुद्ध बनेको हो ।
चुरे भेगको विकट गाउँको रुपमा रहेको नारायण खोला अहिलेसम्म सडक सञ्जालमा जोडिन सकेको छैन् । पानी नपरेको र खोलामा बाढी नआएका बेला लखन्देही तथा डाइनी खोलाको बगर भइ गाडी चल्ने गरेका छन् । मङ्गलबार बिहानदेखि तर्न नसक्ने गरी बाढी आएकाले मोटरसाइकल, ट्याक्टर, बोलेरो, बस लगायत कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको नारायण खोलाका स्थानीय वासिन्दा एवं बस व्यवसायी कुमार मोक्तानले जानकारी दिनुभयो ।
मोक्तानका अनुसार बाढीले खोलाको बाटो पूर्णरुपमा बगाएको छ । लालबन्दी नगरपालिका –१४ का वडाध्यक्ष तथा बस व्यवसायी छेनामसिंह घिसिङले अब बर्खाभर बस चलाउने सम्भावना कम रहेको बताउनुभयो ।
सोमबार लालबन्दी बजारबाट यात्रु लिएर गएका बस खोलामा बाढी आएपछि सिन्धुलीको मरिण तथा नारायण खोलामै रोकिएको वडाध्यक्ष घिसिङले बताउनुभयो । खोलामा बाढी आएपछि अत्यावश्यक काम परेर लालबन्दीसम्म आउनुपर्नेहरु समेत गाउँमै रोकिनुपरेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्षको अन्तिममा सञ्चालन भइरहेका योजना अनुगमन गर्न आफू नारायण खोला पुगेकाले खोलामा बाढी आएपछि मङ्गलबार बोलाइएको नगर कार्यपालिका बैठकमा सहभागी हुन आउन नसकेको वडाध्यक्ष घिसिङले बताउनुभयो ।
महेन्द्र राजमार्गस्थित लालबन्दी बजारदेखि लालबन्दी नगरपालिका –१३, पत्थरकोट छेडा गाउँसम्म पक्की सडक पुगे पनि त्यहाँदेखि उत्तर लालबन्दी नगरपालिका –१४, नारायण खोलातर्फ जान भने लखन्देही र डाइनी खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ ।
पत्थरकोटदेखि चुरेको पाखा भएर साबिक नारायण खोला गाविसको केन्द्र मटरदोभानसम्म सडकको ट्रयाक खन्ने काम लामो समयदेखि जारी छ । मङ्गलबारदेखि खोलामा बाढी आउन थालेर यातायात ठप्प भएसँगै नारायण खोलाका स्थानीयको कष्टकर दैनिकी सुरु भएको छ ।
अब बर्खायामभर कोही स्थानीय बिरामी परे पत्थरकोट वा लालबन्दीका स्वास्थ्य संस्था एवं अस्पतालसम्म ल्याउनु पर्दा झोलुङ्गोमा बोक्नुपर्ने बाध्यता हुने लालबन्दी १४ मा रहेको आधारभूत विद्यालय सतासका शिक्षक कर्ण घिसिङले जानकारी दिनुभयो ।
खोलामा बाढी आएको समयमा बिरामीलाई बोकेर ल्याउन समेत जोखिम रहेको स्थानीयले गुनासो गरेका छन् । बाढी आउन थालेसँगै खोला तरेर आउन नसक्दा विद्यार्थी पढाइबाट बञ्चित हुनेगरेका छन् । बाढी घटेको समयमा शिक्षकहरु आफैले विद्यार्थीलाई खोला तार्ने गर्दै आइरहेका छन् ।
भौगोलिक रुपमा सर्लाहीकै दोस्रो ठूलो वडा अर्थात् ५०.१४ बर्ग किलोमिटरमा फैलिएको लालबन्दी १४ मा ७४८ घरधुरीको बसोवास रहेको छ । बर्खाका तीन–चार महिना गाडी नचल्ने भएकाले स्थानीयले आफूलाई आवश्यक पर्ने खाद्यान्न हिउँदयाममै किनेर लैजाने गरेका छन् ।
सडक नपुगेको लालबन्दी नगरपालिका –१५, भित्रीखोला तथा शीर कालिन्जोर र ईश्वरपुर नगरपालिका –१२, पिपलदमार क्षेत्रमा बर्खाभर यातायात अवरुद्ध हुने गरेको छ । सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारदेखि लखन्देही, डाइनी, फूलजोर, कालिन्जोर र बाँके खोलाको बगर हुँदै हिउँदको महिनामा सिन्धुलीको मरिण र हरिहरपुरगढीका विभिन्न भागसम्म यातायात सञ्चालन हुने गरेको छ ।
बर्खा लागेर गाडी चल्न छाडेपछि स्थानीय वासिन्दा बजारसम्म आउन नियमित गाडी चल्ने ठाउँ अर्थात् चुरे फेदीसम्म आउन तीन–चार घण्टा पैदल हिँड्न बाध्य हुने गरेका छन् ।