वीरगन्ज । परवानीपर–ड्राइपोर्ट सडकखण्डको वीरगन्ज महानगरपालिका– २१ मा सोमबार करिब १२ बजे एउटा सवारी दुर्घटना भयो। परवानीपुर चौकीभन्दा पाँच सय मिटर अगाडी पश्चिमतर्फ मधेश प्रदेश ०३–५१–००२ स ४३५७ को हलुका मालसामान बोक्ने लोडर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित १० जना सामान्य घाइते भए। उनीहरुलाई प्रहरी चौकी परवानीपुरको सहयोगमा एम्बुलेन्समार्फत वीरगन्ज महानगरपालिका– १४ बहुवरीमा रहेको स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा पु¥याइयो।
प्रहरी चौकी परवानीपुरका अनुसार क्षमताभन्दा बढि मानिस सवार र तिब्र गतिका कारण दुर्घटना भएको हो। दुर्घटनामा पोखरीया नगरपालिका– ७ का रामजी दास, ४८ बर्षीय लंगटु सहनी, बिन्दबासिनी गाउँपालिका– ५ का ५० बर्षीय सुरेन्द्र मुखिया, करिमन मुखिया, बिगा सहनी, मोतिलाल मुखीया र दिपक मुखीया सामान्य घाइते भए।
दुर्घटनामा परेर समान्य घाइते भएका उनीहरुलाई नजिकै रहेको सरकारी अस्पताल छाडेर निजी अस्पताल लगियो। यस आसपासका क्षेत्रमा सवारी दुर्घटना हुँदा अधिकांश बिरामीहरु अस्पताल र एम्बुलेन्सबिचको सेटिङका कारण ठगीमा पर्ने गरेको आरोप लाग्ने गरेको छ। त्यसैले यो दुर्घटनाका घाइतेहरुले एम्बुलेन्स चालकलाई सरकारी अस्पताल लैजान आग्रह गरे, तर एम्बुलेन्स चालकले सिधै स्पर्श मल्टिस्पेशलिटी अस्पताल लगेर एम्बुलेन्स रोके।
सामान्य घाइते भएका ५–६ जनाको केही घण्टाको उपचारमा दुई लाख ८० हजारको बिल आएपछि उनीहरु छाँगाबाट खसेझैं भए। किशोरी सहनीको हातमा सामान्य चोट लागेको उपचारको २० हजार ९ सयको बिल थमाइयो। आफूलाई एउटा औषधि पनि नदिएर यति ठूलो रकमको बिल थमाएको उनको भनाइ छ।
यसैगरी, अर्का घाइते प्रेम सहनीलाई अस्पतालले दुई बोतल स्लाइन, दुई वटा सुई र दुई एक्सरेको बिल २३ हजार ९ सय थमाइयो। ‘सामान्य उपचार पनि भएको छैन, तर अस्पतालको यो बिल हेर्दा छक्क परेँ,’ उनले भने। अर्का पीडित सुरेन्द्र मुखियाले पनि सामान्य चोटको उपचारको बिल अस्पतालले २५ हजार देखाएको बताए।
अर्को घाइते लंगटु सहनीले आफूलाई स्लाइन पानी पनि नचढाएको बताउँदै अस्पतालले ४५ हजारको बिल दिएको बताए। ‘एउटा हातमा पट्टी मात्र लगाएको छ,’ उनले भने। बिगा सहनीको पनि हातमा सामान्य चोट लागेको छ। तर एक बोतल स्लाइन चढाएर २३ हजार एकसयको बिल बनाएको उनले बताए। दिपक सहनीसँग पनि स्लाइन चढाएर २५ हजारको बिल थमाइएको छ।
होहल्ला र विरोधपछि ६५ हजारमा सहमति
सवारी दुर्घटनामा ५ घण्टामा उपचार गराएर डिस्चार्ज हुने समयमा घाइतेहरुले आफन्तलाई बोलाएपछि अस्पतालले बिल घटाएको छ। अस्पतालको प्रशासन शाखाका रुपक पटेलका अनुसार २ लाख ८० हजारको बिलमा छुट दिएर ६५ हजारमा मिलाइएको छ।
घाइते पक्षका केही व्यक्तिहरुले अस्पताल प्रशासनमा पुगेर सोधखोज गरेपछि मात्रै सहमति भएको हो। अस्पतालले कसैलाई पनि नठगेको दाबी गर्दै उनले आर्थिक अवस्था कमजोर भएकाहरुलाई आन्तरिक सहमतिमा अस्पताल प्रशासनले छुट दिएको उनको भनाइ छ। अस्पतालको सुविधा राम्रो भएकै कारण बिरामीहरु अस्पतालमा आउने गरेको बताउँदै उनले उपचारमा कुनै लापरवाही नहुने बताए।
घाइते पक्षका सन्जीव मिश्राले अस्पतालले गरिबलाई लुट्ने गरेको आरोप लगाउँदै सोधखोज गरेर दबाब दिएपछि अस्पतालले बिल घटाएको जिकिर गरे। एम्बुलेन्सले मनोमानी तरिकाले निजी अस्पताल पु¥याएर भाग्ने गरेकाले समस्या हुने गरेको उनले बताए।