काठमाडौं । पासपोर्ट छपाईको अनियमितता आरोपमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक (सूचना प्रविधि)सुनिल कुमार केसी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई बिशेष अदालतमा उपस्थित गराएको छ। बिशेष अदालतले उनीहरूलाई चार दिन थुनामा राख्न म्याद दिएको छ। अख्तियारले २० दिन म्याद माग गरेकोमा सोमबारदेखि लागु हुने गरी ४ दिन म्याद दिएको बिशेषका प्रवक्ता कृष्णशरण लामिछानले बताए।
६४ लाख पासपोर्ट छपाईको ठेक्का मिलेमतोका आधारमा जर्मन कम्पनीलाई दिएको उजुरीमा आयोगले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। नयाँ कम्पनीले समयमा पासपोर्ट छाप्न समेत सकेको छैन । यसमा ठेकदारहरुमाथि पनि आयोगले छानबिन थालेको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गत साउनमा दुई कम्पनीलाई पासपोर्ट छपाईको ठेक्का दिएको छ। सार्वजनिक खरिद नियमावली मिचिएपछि सो खरिद निकै विवादित बनेको थियो।