पर्सा । पर्सा प्रहरीले १०९ किलो गाँजासहित एक बोलेरो पिकअप र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा आइतबार दिउँसो करिब ३ बजे वीरगंज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअप रोकी खानतलासी गर्दा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरेर राखिएको आठ पोकामा रहेको करिब १०९ किलो गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्रबहादुर थामीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामध्ये सुभाष थामी उक्त सवारी साधनका चालक रहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजा, बोलेरो पिकअप तथा पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।