वीरगन्ज । सडक अनुशासनको पालना गराउने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्लामा बुधबारदेखि ‘ट्राफिक जनचेतना मूलक सप्ताह कार्यक्रम २०८३’ सुरु भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा बुधबारदेखि सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ वीरगन्जबाट गरिएको हो।
असार ९ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको बुधबार बिहान वीरगन्जको घण्टाघर चोकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले शुभारम्भ गरे ।
थापाले शुभारम्भ गरेपछि जनचेतनामूलक ¥याली घण्टाघरबाट सुरु भई लिंक रोड, बसपार्क, भानुचोक हुँदै पुनः घण्टाघर पुगेर समापन भएको थियो। ¥यालीमा सहभागीहरूले ट्राफिक नियम पालना, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए।¥यालीमा नेपाल स्काउटका सदस्यहरू तथा वीरगन्जका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवालले सडक सुरक्षामा ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै चालक, यात्रु, पैदलयात्री तथा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी आवश्यक रहेको बताए। उनीहरूले ट्राफिक नियमको पूर्ण पालना भएमा अधिकांश दुर्घटनालाई रोक्न सकिने धारणा व्यक्त गरे।
त्यसअवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदी,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईं ,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान लगायतकाको पनि उपस्थिति रहेको थियो।