वीरगञ्ज । मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बिहीबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।
कार्यक्रम मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्य तथा मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेशका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश तथा विश्व पत्रकार महासंघका दिपेन्द्र चौहानले पत्रकारिताको वर्तमान अवस्था, बदलिँदो चुनौती तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले प्रशिक्षण प्रदान गर्दै पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता, सामाजिक दायित्व तथा डिजिटल युगमा पत्रकारिताले सामना गरिरहेका चुनौतीका विषयमा विस्तृत जानकारी दिएका थिए। उनले विश्वसनीय सूचना सम्प्रेषण र व्यावसायिक आचरणलाई पत्रकारिताको मूल आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।
अभिमुखीकरणका क्रममा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, समाचार सम्प्रेषणमा तथ्यपरकता, गलत तथा भ्रामक सूचनाको नियन्त्रण, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, सञ्चार माध्यमको विश्वसनीयता अभिवृद्धि तथा पत्रकारितामा नैतिक मूल्य र मान्यताको संरक्षणका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ८० भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले पत्रकारिताको व्यावसायिक दक्षता अभिवृद्धि गर्न, जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न तथा समाजमा विश्वसनीय सूचना प्रवाहलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
मिडिया काउन्सिल जनकपुरधामले प्रदेशभरका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितालाई थप मर्यादित, उत्तरदायी, व्यावसायिक र विश्वसनीय बनाउन यस्ता अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।