जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संरचना प्राप्त गर्न सके सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन लगायतको काम प्रभावकारी रूपमा गर्न सकिने बताउनुभयो।
बिहीबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारलाई आवश्यक अधिकार र संरचना नहुँदा काम प्रभावकारी रूपमा अघि बढाउन कठिन भइरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकार आफ्नै प्रहरी प्रशासन र कर्मचारी संरचनाबिना अधिकारविहीनजस्तो बनेको उल्लेख गर्दै सङ्घीय संरचनामाथि प्रश्न समेत उठाउनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेशको प्रमुख विषय प्रदेश प्रहरी प्रशासन र कर्मचारी हो, त्यसमा नै अधिकार नहुँदा प्रदेशले कसरी प्रभावकारी रूपमा काम गर्न सक्छ ? अहिले पनि सङ्घ सरकारले प्रदेशमाथि हुकुम चलाइरहेको अवस्था छ । तर, अधिकारमा पूर्णता दिएको छैन ।”
मुख्यमन्त्री यादवले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक बजेट र अधिकारसमेत प्रदेशलाई पूर्ण रूपमा नआएको उल्लेख गर्दै प्रदेश सरकारलाई ‘अधिकारविहीन’ बनाइएको टिप्पणी समेत गर्नुभयो।
उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भए पनि स्रोत, साधन र अधिकार अभाव प्रमुख चुनौती बनेको बताउनुभयो ।
यस्तै, कार्यक्रममा श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना विस्तार अत्यावश्यक रहेको बताउनुभयो । उहाँले विद्यालय तहमा ट्राफिक नियमबारे शिक्षा दिइएको अभ्यासलाई सकारात्मक भन्दै आगामी दिनमा महिला समूह तथा समुदायस्तरमा पनि सचेतना कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले सडक सुरक्षासम्बन्धी विषयमा व्यापक छलफल आवश्यक रहेको उल्लेख गर्दै प्रमाणमा आधारित नीति निर्माण, सडक संरचनामा सुधार तथा समन्वय र सहकार्य सुदृढ गर्नुपर्ने बताउनुभयो।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले ट्राफिक प्रहरीलाई प्रभावकारी रूपमा जिम्मेवारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पर्याप्त बजेट र अधिकारबिना ट्राफिक व्यवस्थापन प्रभावकारी नहुने बताउँदै सडक दुर्घटनाका कारण पहिचान गरी नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो।
भौतिक पूर्वाधार विकास मन्त्रालय मधेशका सचिव ओमराज ढुङ्गानाले सडक सुरक्षामा सुधारका लागि सबै सरोकारवाला निकायबिच सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव इन्जिनियर शुभराज न्यौपानेले सडक सुरक्षा विषयलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभयो।
मन्त्रालयका सहसचिव ई. न्यौपानेको अध्यक्षता आयोजित कार्यक्रममा प्रदेश सांसद तथा अर्थ तथा योजना समितिका सभापति अनिता शाह, प्रदेश सांसद अन्जना पण्डित, स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतको सरोकारवाला निकायका पदाधिकारी प्रतिनिधिको सहभागिता रहेको थियो।
एसियाली विकास बैँक (एडिबी), राष्ट्रिय सडक सुरक्षा परिषद् नेपाल तथा मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको थियो ।