काठमाडौं । पूर्वसभामुख एवम् नेकपाका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । उनले आज विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका हुन् ।
अब पार्टीको केन्द्रीय सदस्य मात्रै रहने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो।’ उनले आफू केही वर्ष यता (एट्रोफी) सम्बन्धी रोगबाट पीडित रहेको र नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले साथ दिन नसकेकाले पार्टीका जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएको बताएका छन् ।
उनले अगाडि भनेका छन्, ‘नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन। परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले योगदान गर्न कठिन हुँदै गएकै छ।’
पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैँ इमानदार र प्रतिबद्ध रहिरहने जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरू, सहकर्मी साथीहरूको आत्मीयता र देश तथा जनताप्रतिको मेरो प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त हुने छैन। मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समुद्र नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ।’