पर्सा । पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ५९ लाख ४१ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्ययसहितको बजेट सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख पूजा चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन्। त्यसअघि नगरप्रमुख गोकर्ण पाठकले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “समृद्ध र सुन्दर पर्सागढी, सुखी पर्सागढीवासी” को अवधारणालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गरे।
नगरप्रमुख पाठकले “पर्सागढी समृद्धिको आधार : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराअनुसार नगरको समग्र विकासलाई प्राथमिकता दिइने बताए।
नगरप्रमुख पाठकको अध्यक्षतामा सम्पन्न नगरसभामा वडा सदस्य लक्ष्मण आचार्य, सीता लामा, असलम आलम तथा वडाध्यक्ष रामबढाई प्रसाद यादव र शेख खुर्सेद मियाँलगायतले आ–आफ्ना धारणा तथा जिज्ञासा राखेका थिए। सभामा उठेका विभिन्न प्रश्नहरूको जवाफ प्रमुख प्रशासकीय अधिकृत राजु साह र नगरप्रमुख पाठकले दिएका थिए।
नगरसभाको अवसरमा नगर विकासमा योगदान पुर्याएका जग्गादाता, कर्मचारी तथा सुरक्षाकर्मीलाई सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए।
सभामा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमाथि छलफलपछि दुवै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए।