काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसा कानूनी प्रक्रिया पालना नगरी जाँचपास गरेको देखिएपछि तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो ।
यसैगरी, घटनामा संलग्न रहेको आरोप लागेका सवारी साधन आयातकर्ता कम्पनीहरू लक्ष्मी ई–मोबिलिटी प्रालि, सिमेक्स इंक प्रालि, सिजी मोटर्स प्रालि, पूजा इन्टरनेशनल नेपाल प्रालि र पूजा कन्स्ट्रक्सन नेपाल प्रालि लगायतका व्यवसायी तथा एजेन्ट नम्बर २४८, ८३३ र ४७८ सहितका भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित भन्सार कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको विभागले जनाएको छ ।
विद्युतीय सवारी साधन (ईभी) आयात तथा भन्सार जाँचपास प्रक्रियाबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि गरिएको छानबिनमा रसुवा भन्सार कार्यालयमा गम्भीर प्रक्रियागत कमजोरी भेटिएको छ भने मुस्ताङ भन्सार कार्यालयको जाँचपास प्रक्रिया नियमअनुसार भएको निष्कर्ष निकालिएको छ ।
विभागका अनुसार अर्थ मन्त्रालयको निर्देशनपछि रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट भएको विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरी अध्ययन गरिएको थियो ।
रसुवाका लागि विभागका निर्देशकको नेतृत्वमा जेठ १७ गते र मुस्ताङका लागि विभागका निर्देशकको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित टोली जेठ २१ गते खटाइएको थियो ।
अनुगमन टोलीको प्रतिवेदनअनुसार मुस्ताङ भन्सार कार्यालयबाट जेठ १२ र १३ गते घोषणा गरिएका ६४९ वटा विद्युतीय सवारी साधन नौ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रियामा प्रवेश गरेका थिए ।
आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययनपछि ती सबै सवारी साधन जेठ १४ गतेभित्र नेपाल प्रवेश गरिसकेको र सोही अवधिमा नियमानुसार जाँचपास सम्पन्न भएको निष्कर्ष निकालिएको विभागले जनाएको छ ।
रसुवा भन्सार कार्यालयको हकमा भने कर्मचारीहरूले आवश्यक सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको पाइएको छ ।
अनुगमन टोलीले प्रज्ञापनपत्र तथा कार्यालय अभिलेखको स्थलगत अध्ययन गर्दा केही विद्युतीय सवारी साधन भन्सार क्षेत्रमा भौतिक रूपमा आइपुग्नुअघि नै कागजातका आधारमा जाँचपास गरिएको फेला पारेको जनाएको छ ।
विभागका अनुसार घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको छ ।