प्रेमचन्द्र झा / रौतहट । विकास निर्माण, सुशासन, सेवा प्रवाह र जनअपेक्षालाई केन्द्रमा राख्दै वृन्दावन नगरपालिकाको ११औँ नगरसभा भव्य रूपमा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ३२ लाख २५ हजार ८ सय १ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दै समृद्ध र आत्मनिर्भर वृन्दावन निर्माणको स्पष्ट मार्गचित्र अघि सारेको छ।
नगरसभामा प्रमुख अतिथिका रूपमा सहभागी मधेश प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री कनिष पटेलले विकासको मापन केवल संरचना निर्माणबाट मात्र नभई जनताको जीवनस्तरमा आएको परिवर्तनबाट हुनुपर्ने धारणा व्यक्त गरे। उनले कार्यसम्पादनलाई सुधारमुखी बनाउँदै जनताको आवश्यकता र आकांक्षाअनुसार विकासका योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।

मन्त्री पटेलले प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै बजार निर्माण तथा विस्तारका योजनामा प्रदेश सरकार हातेमालो गर्न तयार रहेको बताए। उनले प्रदेश सरकारले अब एक करोड रुपैयाँभन्दा कम लागतका योजनामा प्रत्यक्ष लगानी नगर्ने नयाँ नीति अवलम्बन गर्ने संकेत गर्दै विकासलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रयास भइरहेको उल्लेख गरे। साथै उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा प्रदेश सरकार सहभागी नहुने स्पष्ट पार्दै पारदर्शी र संस्थागत प्रणालीमार्फत विकासलाई गति दिने धारणा राखे।
नगरसभामा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख महेश बैठाले विकासका योजनाहरूको प्रभावकारिता मूल्याङ्कन गर्दै जनताको वास्तविक अवस्था सुधार भए वा नभएको विषयमा निरन्तर लेखाजोखा गर्न आवश्यक रहेको बताए। विकासको लक्ष्य केवल संरचना निर्माण नभई नागरिकको जीवनस्तर उकास्नु रहेको उनको भनाइ थियो।
त्यसैगरी वडा नं. ७ का अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले संघीय लोकतान्त्रिक व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती र हस्तक्षेपका प्रयासहरू भइरहेको उल्लेख गर्दै लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त संघीयता तथा लोकतन्त्रलाई थप सबल बनाउन सबै तह र तप्काले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले नगरसभाको सफलताको शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले वृन्दावन नगरपालिकाको समग्र विकासको आधारका रूपमा कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। “कृषि, पर्यटन, शिक्षा र पूर्वाधारको मुख्य सुधार नै वृन्दावन नगरपालिकाको मूल आधार” भन्ने मूल नारासहित नगरपालिकाले आगामी वर्षका कार्यक्रमहरू अघि बढाएको छ।
नगर उपप्रमुख संगिता रामले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधुनिक कृषि प्रणालीको विस्तार, पर्यटन प्रवर्द्धन, शैक्षिक गुणस्तर अभिवृद्धि, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य सेवाको पहुँच विस्तार, महिला तथा युवा सशक्तीकरण लगायतका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
नगरपालिकाले सुशासन र पारदर्शितालाई संस्थागत गर्ने उद्देश्यले सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने नीति लिएको जनाएको छ। नगर नेतृत्वले नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरण वातावरणीय अध्ययन र कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन भइरहेको जानकारी गराउँदै प्राकृतिक स्रोतको संरक्षण र सदुपयोगबीच सन्तुलन कायम गरिएको दाबी गरेको छ। साथै प्रादेशिक प्रयोगशाला निरन्तर सञ्चालनमा रहेको र त्यसले स्थानीयस्तरमा आवश्यक सेवा प्रवाह गरिरहेको जानकारी पनि नगरसभामा गराइएको थियो।
नगरसभाका अध्यक्ष एवं नगर प्रमुख विनोद राउत कुर्मीले वृन्दावनका नागरिकले अपेक्षा गरेअनुरूप विकास निर्माण तथा सेवामूलक कार्य सम्पन्न गर्न आफू दिनरात खटिरहेको बताए। उनले नगरपालिकालाई विकास, सुशासन र जनविश्वासको नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गरे।
“जनताको चाहना, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर नगरपालिकाले आफ्नो सम्पूर्ण ऊर्जा परिचालन गरिरहेको छ,” नगर प्रमुख कुर्मीले भने, “विकासका प्रतिफल प्रत्येक नागरिकको घरआँगनसम्म पुर्याउने हाम्रो प्रतिबद्धता अटल छ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादले अतिथिहरूलाई स्वागत गर्दै नगरपालिकाले जनचाहनाअनुसार विकासका योजना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा निरन्तर काम गरिरहेको बताए। उनले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीचको समन्वयबाट मात्र समृद्ध नगर निर्माण सम्भव हुने धारणा राखे।
नगरसभाको महत्वपूर्ण आकर्षणका रूपमा आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ३२ लाख २५ हजार ८ सय १ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो। नगर उपप्रमुख संगिता रामले प्रस्तुत गरेको बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, वातावरण संरक्षण, सामाजिक सुरक्षा तथा प्रशासनिक सुधारका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।
नगरसभाले आगामी वर्षलाई विकास, सुशासन र समृद्धिको आधार वर्षका रूपमा स्थापित गर्ने संकल्प व्यक्त गरेको छ। जनप्रतिनिधिहरूले स्थानीय आवश्यकता र जनभावनाअनुसार योजनाहरू कार्यान्वयन गर्दै नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन्।
वृन्दावन नगरपालिकाको ११औँ नगरसभा केवल वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गर्ने औपचारिक कार्यक्रममा सीमित रहेन; यसले स्थानीय विकासको नयाँ दृष्टि, उत्तरदायी शासनको प्रतिबद्धता र जनआकांक्षालाई सम्बोधन गर्ने योजनासहित समृद्ध भविष्यतर्फ अघि बढ्ने सामूहिक संकल्पको सन्देश दिएको सहभागीहरूले बताएका छन्।