स्वीट्जरल्याण्डमा चलिरहेको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्तामा मध्यस्थकर्ता देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन् । दुई देशबीच तनाव कम गर्ने र मध्यपूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्वपूर्ण सहमति भएको अल जजिराले जनाएको छ ।
वार्तामा अमेरिका र इरानले लेबनानमा जारी सैन्य तनाव नियन्त्रण गर्न “डि–कन्फ्लिक्शन सेल” स्थापना गर्ने सहमति गरेका छन्, जसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत बुझाइका कारण हुने सैन्य झडप रोक्ने काम गर्नेछ ।
साथै, अमेरिका, इरान र लेबनानबीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने भएको छ । मध्यस्थकर्ताहरूका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ, जसले राजनीतिक रूपमा वार्तालाई दिशानिर्देशन गर्नेछ ।
यस समितअन्तर्गत प्राविधिक समूहहरूले आणविक कार्यक्रम, प्रतिबन्ध खुकुलो पार्ने विषय, र विवाद समाधानका विषयमा काम गर्नेछन् । प्रारम्भिक सम्झौताको रोडम्याप ६० दिनभित्र तयार गर्ने लक्ष्य राखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा चेतावनी दिएको विषयपछि इरानी टोलीले केही समय बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो । यसले वार्तामा तनाव उत्पन्न भए पनि अन्ततः संवाद फेरि सुरु भएको थियो ।
विश्लेषकहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्वपूर्ण चरण हो । आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन्, जसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।