बारा । बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल–भारत सीमामा रहेको जमुनिया खोलाको झाडीमा एक जना पुरुषको शव फेला परेको छ।मृतकको पहिचान भने खुल्न सकेको छैन ।
भारतीय एसएसबीले आइतबार बेलुकी करिब साढे ७ बजे सीमावर्ती क्षेत्रमा एक जना अपरिचत पुरुषको शव फेला परेको जानकारी बाराको पिपरपातीमा रहेको प्रहरी चौकीमा गराएको थियो । प्रहरी चौकी पिपरपातीबाट प्रहरी सहायक निरीक्षक समसुदिन मियाँ तेलीको नेतृत्व खटिएको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी सहायक निरीक्षक तेलीका अनुसार ,नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको ३६३÷३० नम्बरको पिलरबाट करिब १५४ फिट पश्चिम–उत्तरतर्फ जमुनिया खोलाको किनारको झाडीमा शव फेला परेको हो। अन्दाजी ३३ देखि ३५ वर्ष उमेर समूहका पुरुषको शवको हालसम्म पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले मृतक भारतीय नागरिक रहेको भन्ने खुलेको जानकारी दिए । घलेले भारतमा रहेका मृतकको आफन्तलाई बोलाइएको बताए ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।