महोत्तरी । लामो समयदेखि मुआब्जासम्बन्धी विवादका कारण प्रभावित जयनगर–बर्दिबास रेलमार्गको बाँकी करिब १८ किलोमिटर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ। विवाद समाधान भएसँगै निर्माण कम्पनीले धनुषा र महोत्तरी क्षेत्रमा रेल ट्र्याक बिछ्याउने कार्यलाई तीव्र बनाएको हो।
नेपाल–भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माणाधीन यो रेलमार्गलाई दुवै देशबिचको महत्त्वपूर्ण सीमापार पूर्वाधार परियोजनाका रूपमा लिइएको छ। परियोजना सम्पन्न भएपछि नेपाल–भारतबिचको आवागमन, व्यापार तथा आर्थिक गतिविधिमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार निर्माण कार्यलाई अब तीव्र गतिमा अघि बढाइनेछ। उहाँले बाँकी काम निर्धारित समयमै सम्पन्न गरी आगामी दुई वर्षभित्र बर्दिबाससम्म नियमित रेल सेवा सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
महाप्रबन्धक पराजुलीका अनुसार परियोजनाको निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकन इन्टरनेसनलले आवश्यक जनशक्ति, उपकरण र प्राविधिक व्यवस्थापन परिचालन गरी निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। लामो समयदेखि मुआब्जा विवादका कारण रोकिएको क्षेत्रमा अहिले पुनः निर्माण कार्य सुरु भएसँगै परियोजनाले गति लिएको उहाँले बताउनुभयो।
जयनगर–बर्दिबास रेलमार्गको कुल लम्बाइ करिब ७० किलोमिटर रहेको छ। यसमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। त्यसपछि कुर्था–बिजलपुरा खण्डमा पनि रेल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ भने बाँकी बिजलपुरा–बर्दिबास खण्डमा ट्र्याक बिछ्याउने, संरचना निर्माण तथा अन्य प्राविधिक काम भइरहेको छ।
रेलमार्ग विस्तारसँगै नेपाल रेल्वे कम्पनीले रेल्वे स्वामित्वमा रहेको जग्गा संरक्षण अभियानसमेत सुरु गरेको छ। कम्पनीले विभिन्न स्थानमा अतिक्रमणमा परेको रेल्वे जग्गा पहिचान गरी खाली गराउने प्रक्रिया अघि बढाएको जनाएको छ।
महाप्रबन्धक पराजुलीका अनुसार पुराना नक्सा, अभिलेख तथा प्राविधिक विवरणका आधारमा रेल्वे जग्गा यकिन गरी अतिक्रमण हटाइनेछ। यसका लागि सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।
जयनगर–बर्दिबास ब्रोडगेज रेलमार्ग नेपालमा रेल पूर्वाधार विस्तारका दृष्टिले महत्त्वपूर्ण परियोजनामध्ये एक मानिन्छ। परियोजना सम्पन्न भएपछि मधेश प्रदेशका धनुषा र महोत्तरीसहित आसपासका जिल्लाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै सीमापार यात्रालाई सुरक्षित, सहज र सुलभ बनाउनुका साथै मालसामान ढुवानीमा समेत उल्लेखनीय सहजता आउने विश्वास गरिएको छ।
रेलमार्ग सञ्चालनले नेपाल–भारतबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन, लगानी र क्षेत्रीय विकासमा समेत सकारात्मक प्रभाव पार्ने सरोकारवालाको अपेक्षा छ। निर्माण कार्यले पुनः गति लिएसँगै निर्धारित समयमै बर्दिबाससम्म रेल सेवा विस्तार हुनेमा स्थानीयवासी आशावादी देखिएका छन्।