बीरगंज, बैशाख २३
प्रदेश नम्बर ५ को रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर चढ्ने गरेको नगरपालिकाको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइएको छ।नगरपालिका भित्रै कोरोना भाइरस संक्रमणको गम्भीर र जटिल अवस्थाका बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको तिलोत्तमा नगरपालिका नगरप्रमुख वासुदेव घिमिरेले बताए।मेयर घिमिरेले लु१झ ३ सय ६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३ सय २६ नम्बरको स्कर्पियो गाडी प्रयोग गर्दै आएका छन्। ‘अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,’ भनेर घिमिरेले भने, ‘नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दै छौं।’ उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने उनले बताए। दैनिक २०० जना सम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगर पछि धेरै संक्रमित छन्।