बागलुङ । गतराति परेको अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुरिँदा बागलुङमा एकजनाको ज्यान गएको छ। बागलुङ नगरपालिका– ७ तितौरेकी ५५ वर्षीया खिलकुमारी शर्माको पुरिएर मृत्यु भएको हो।
शर्मा घरभित्र सुतिरहेको अवस्थामा माथिबाट आएको पहिराले घर पुरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
गएराति अन्दाजी ११ बजे पहिरो आएको थियो। आज बिहान स्थानीयले घर पुरिएको खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।
गोठ पुरिँदा एक भैँसी र चार बाख्रा मरे
पहिरोकै कारण बागलुङ नगरपालिका– ९ तित्याङमा स्थानीय भद्रबहादुर थापाको गोठ पुरिँदा एउटा भैँसी र चारवटा बाख्रा मरेको वडाध्यक्ष राजु थापाले जानकारी दिए।
पहिरोकै कारण तित्याङ फूलपातिको स्थानीय प्रेम नेपालीको घरनजिकैबाट गएको पहिरोले घरदेखि तलको बस्ती जोखिममा रहेको छ भने तित्याङको अदुवाबारीमा लालबहादुर थापा, चण्डीप्रसाद शर्मा, गणेश शर्मा, रामबहादुर खत्री र कुमार खत्रीको घर जोखिममा परेको वडाध्यक्ष थापाले जानकारी दिए।
वर्षाका कारण पहिरो जाँदा तित्याङकै शिवालय मन्दिर र नजिकैको विद्यालय र तामाखानीनजिकैको अडडाँडाको बस्ती जोखिममा रहेको वडाध्यक्ष थापाले बताए ।
पहिरोले जिल्ला सदरमुकाम आउने ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । पहिरोकै कारण जिल्लाको काठेखोला गाउँपालिका– ६ बिहुँ सुल्डाँडामा मानबहादुर केसीको गोठ पुरिँदा एउटा भैँसी मरेको छ।
बुधबार राति करिब आठ बजेपछि आएको वर्षाका कारण बागलुङ बजार क्षेत्र जलमग्न भएको थियो। मध्यपहाडी लोकमार्गको सडकको नाला थुनिएपछि बजार क्षेत्रमा पसेको बाढीले श्रीनगरटोलदेखि हल्लनचोकसम्मका पसलमा पानी पसेर क्षति पुर्याएको थियो।
मध्यरातमा बाढी हटाउन नेपाल प्रहरी, नेपाली सेनासमेत परिचालन गरिए पनि क्षति घटाउन नसकिएको हो। बागलुङ नगरपालिकाको विपत् व्यवस्थापन शाखाले मध्यरातमा भल तर्काउने र डुबान भएका पसलमा कम क्षति पुर्याउने कार्य गरेको थियो।
पहिरोका कारण मध्यपहाडी लोकमार्ग पर्वतखण्डको कुश्मा नगरपालिका– १ नयाँपुलमा सडक अवरुद्ध भएको छ भने कालीगण्डकी करिडोर बागलुङखण्ड, बेनीखण्ड पनि अवरुद्ध भएको छ।