

पर्सा , असार १७
वर्षाको कारण पर्साको वीरगञ्ज माहानगरपालिका लगायत नगरपालिका र गाऊँपालिकाको ग्रामीण भेगका दर्जनभन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।लगातार परिरहेको वर्षाको पानीको सहज निकास हुन नसकेका कारण वीरगञ्ज महानगरको रानीघाट, श्रीपुर, राधेमाइ, रामगढवा, आदर्शनगर, चिनी मिल आवास क्षेत्र, नगवा लगायतका क्षेत्र डुबानमा परेका छन् ।वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ ।अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदि र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् ।नदि र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीनसमेत कटान गरेको छ ।पर्साको पकाहा मैनपुर गाऊँपालिकाको वडा न ०४ खेश्रहामा पर्ने प्रहरी चौकी लगायत घरहरु डुबानमा परेको छ।पकाहामैनपुर गाऊँपालिकाकै धोबियाटोला,सबैठवा, सुर्जाहा , मैनपुर ,धोरे गाऊँपनी डुबानमा परेको छ।त्यतै जगरनाथपुर गाऊँपालिकाको जानकीटोलामा रहेको ओरिया नदीको पानीको सतह बढेर बाढी पस्दा दसौता गाउँ डुबानमा परेको छ ।पर्साकै छिपहरमाई गाऊँपालिकाको भिस्वा, मुडली, लङ्गडी गाऊँपनी डुबानमा परेको छ।बिन्दबासिनी गाऊँपालिकाको हस्वा, प्रसौनीभाटा, अमरपट्टि, गर्दौल गाऊँ डुबानमा परेको छ। त्यस्तै पोखरिया नगरपालिकाको बैरियाबिर्ता लगायत पर्साकै मसिहानी, धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, लगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् ।