बिरगंज । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।
आज मधेश प्रदेशका जिल्लाहरूसँग तराईका पूर्वदेखि पश्चिमसम्मका जिल्लाहरूमा होली मनाइन्छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।
पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा भने आज सार्वजनिक बिदा दिइएको छ । होलीलाई लक्षित गरी विभिन्न ठाउँमा विभिन्न मेला तथा महोत्सवहरू आयोजना गरिएका छन्।