ढल्केबर । सबडिभिजन वन कार्यालय गोदार धनुषाले वनक्षेत्रको १६ हेक्टर जमिन अतिक्रमणमुक्त गरेर वृक्षरोपण गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, रक्ताही कमलास्थित वनक्षेत्रको अतिक्रमित जमिन खाली गराएर वृक्षरोपण गरेको हो ।
वनक्षेत्रको अतिक्रमित जमिन अनधिकृत रूपमा किनबेच भइरहेकोबारे केही दिनअघि गोरखापत्र दैनिकमा समाचार प्रकाशन भएपछि वन कर्मचारीले सक्रीयता बढाउँदै जग्गा खाली गराएका हुन् ।
सबडिभिजन वन कार्यालय गोदारका वन अधिकृत भगलु मण्डलले ३० हेक्टर अतिक्रमित जमिनमध्ये १५ हेक्टर जग्गा खाली गराएर विभिन्न प्रजातिका २४ हजार बिरुवा रोपिएको बताउनुभयो । स्थानीय र भूमाफियाको मिलेमतोमा कपाली तमसुक बनाएर वनको जग्गा खरिदबिक्र हुने गरेको खुलासा भएपछि अतिक्रमणमुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीयले खेतीको आडमा वनको जग्गा कब्जा गरेका थिए तर वनको जग्गा किनबेच हुन थालेको खुलासा भएपछि स्थानीयसँग समन्वय गरेर अतिक्रमणमुक्त गरिएको हो । अतिक्रमणमुक्त गरिएको वनको जग्गालाई तारजालीले घेरबार गरेर वृक्षरोपण गरिएको छ । बाँकी रहेको जग्गा पनि चाँडै खाली गराएर वृक्षरोपण गरिने अधिकृत मण्डलले बताउनुभयो ।
स्थानीयका अनुसार २०५० सालतिर कमला नदीमा आएको ठुलो बाढीले ल्याएको गिट्टी, बालुवाले यो वनक्षेत्र पुरिएको थियो । त्यसको केही वर्षपछि स्थानीयले यो जग्गा खनजोत गरी अन्नबाली लगाउन थालेका थिए । यही खनजोतलाई आधार बनाएर केही व्यक्तिले जग्गा आफ्नो भएको दाबी गर्दै कपाली तमसुक बनाएर जमिन खरिदबिक्री गर्न थालेका थिए ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख विनोद सिंहले वन क्षेत्रभित्रको जग्गा कब्जा गरेर किनबेच गर्नु गैरकानुनी भएको बताउँदै यस विषयमा छानबिनको प्रक्रीया अगाडि बढाइएको बताउनुभयो । आगामी दिनमा स्थानीय तह, प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायको सहयोग अन्य ठाउँका अतिव्रmमित जमिन चरणबद्ध रूपमा खाली गराउने डिभिजनल प्रमुख सिंहको भनाइ छ ।
डिभिजन वन कार्यालय धनुषाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाका विभिन्न स्थानमा गरी ३० हेक्टर जमिन अतिक्रमणमुक्त गरिएको छ भने ८४२ हेक्टर वनक्षेत्रको जमिन अझै अतिक्रमणको चपेटामा छ ।