सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता र स्थानीय तहको अवधारणा आएपछि देशमा विकास भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ सप्तरी युथले आयोजना गरेको पाँचौं युवा सम्मलेनलाई मङ्गलबार राजविराजमा सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सिंहले सङ्घीयता आएको हिलो जमेको गाउँमा सडक ढलान भएर बिरामीलाई अस्पतालसम्म पुर्याउन सहज भएको बताउनुभयो । “गाउँमा दुई फिटसम्म हिलो हुन्थ्यो जसले गर्दा बिरामीलाई अस्पताल पुर्याउन पनि समस्या थियो । अहिले गाउँ–गाउँमा सडक ढलान भएको छ र यो सङ्घीयता आएपछि मात्रै सम्भव भएको हो,” मुख्यमन्त्री सिंहले भन्नुभयो ।
मधेशमा शिक्षाको अवस्था कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले विद्यालय व्यवस्थापन समितिका कारण शिक्षा क्षेत्र बिग्रिएको बताउनुभयो । आफ्ना नातागोताका व्यक्तिलाई विद्यालयमा भर्ना गर्ने प्रवृत्तिका कारण पनि शिक्षामा गुणस्तर घट्दै गएकोले सरकारी र निजी विद्यालयले त्यसमा सुधार ल्याउन पहल गनुपर्ने आवश्यकता औंल्याउनुभयो।
शिक्षा र सीप सिक्नेतिर लागेर आमाबुवाले देखेका सपना पूरा गर्न कार्यक्रममा सहभागी सप्तरीका १८ वटै पालिकाका युवाहरुलाई सुझाव दिँदै अहिले युवाहरु लागुऔषध र कुलतमा लागेर आमाबुवाले देखेको सपना छिन्ने काम गर्दै आएका छन् । आमाबुवाको सपना पूरा गर्न नसक्ने हो भने छिन्ने काम पनि नगर्न उहाँले आग्रह गर्नुभयो ।
मधेश सरकारले स्किल स्कूलको कन्सेप्ट ल्याउन लागेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले नौ र दश कक्षामा पढने विद्यार्थीहरुलाई त्यसमा सहभागिता गराउने जानकारी दिनुभयो।
सप्तरी युथका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित सम्मेलनमा जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, तिरहुत गाउँपालिका अध्यक्ष विजयकुमार यादव, नेकपा एमालेका पोलिटब्युराे सदस्य सुमनराज प्याकुरेल, प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितले सम्मेलनको सफलताको शुभकामना दिनुभयो ।
सम्मेलनमा जिल्लाका १८ वटै पालिकाका प्रत्येक पालिकाबाट ६-६ गरी १०८ जना युवाहरुको सहभागिता रहेको र सम्मेलनबाट नयाँ कार्यसमिति समेत चयन गरिने आयोजक संस्था सप्तरी युथले जनाएको छ ।