पर्सा । मधेस प्रदेशका पत्रकारमाथि भएको आक्रमणप्रति प्रेस चौतारी नेपाल पर्सा शाखाले गम्भीर आपत्ति जनाउँदै घटनाको कडा निन्दा गरेको छ। साउन १९ गते गुठी संस्थानसँगको कानुनी सम्झौता अनुसार लिजमा प्राप्त चार कठ्ठा जग्गामा तारजाली गर्ने क्रममा नेपाल बार एशोसिएसन धनुषाको नेतृत्वमा आएको समूहले अवरोध गर्दै आक्रमण गरेको हो।
घटनामा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार बिबाकर राय, अनिलकुमार निराला, बिनिता यादवलगायत लक्षित भएका थिए। प्रेस चौतारी नेपाल पर्साले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक उपचारका लागि नेपाल सरकार, मधेस प्रदेश सरकार र स्थानीय प्रशासनसँग सहयोगको आग्रह गरेको छ।
संस्थाले घटनालाई पत्रकार महासंघद्वारा आठ जिल्लाका पत्रकारहरूको साझा केन्द्रका रूपमा सुविधा सम्पन्न भवन निर्माणको तयारी भइरहेका बेला भएको अस्वीकार्य हस्तक्षेपको रूपमा वर्णन गरेको छ। प्रेस चौतारीले दोषीलाई तत्काल कारबाही गर्न, लिजमा प्राप्त जग्गामा हुने सबै अवरोध हटाउन र कानुनी व्यवस्था अनुसार निष्पक्ष कदम चाल्न सम्बन्धित निकायलाई माग गरेको छ ।