जनकपुर । मधेश प्रदेशमा आत्महत्याका घटनाको अवस्था भयावह बन्दै गएको छ । प्रदेशभरि आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ । प्रदेशका आठ वटै जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा एक हजार २५३ वटा आत्महत्याका घटना भएका छन् । तीमध्ये महिलाको सङ्ख्या ४७५ र पुरुषको ४६७ छ । आत्महत्या गर्ने सूचीमा बालकभन्दा बालिका बढी छन् । बालकको सङ्ख्या ६५ छ भने बालिकाको सङ्ख्या २४६ छ ।
गत आवभन्दा अघिल्लो आवमा आत्महत्याका घटना बढी भएको छ । अघिल्लो आव २०८०÷८१ मा एक हजार २७८ वटा आत्महत्याका घटना भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । अघिल्लो आवमा पुरुष ५४०, महिला ४७०, बालक ६७ र बालिका २०१ जनाले आत्महत्या गरेका सो कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार यस आवमा पुरुष र बालक गरी ६०७ र महिला र बालिका गरी ६७१ जनाले आत्महत्या गरेका थिए । यस आवमा पनि पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गरेको उहाँले बताउनुभयो । बालिकाको मात्र हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत वर्ष आत्महत्यामा बालिकाको सङ्ख्या बढी छ । बालिका आत्महत्यामा किशोरीहरू रहेका अनुसन्धान अधिकृत साहले बताउनुभयो । परीक्षा वा प्रेममा असफल, हनी ट्र्याप, घरायसी झैझगडा, डिप्रेसन आदिबाट तिनले आत्महत्या गरेका पाइएको छ ।
यस्तै घरायसी विवाद, मानसिक तनाव, आर्थिक सङ्कट, मोबाइल प्रयोगमा रोक लगाइएको झोक, मोबाइलमा गेम खेल्न नदिएपछिलगायतको अवस्थामा आत्महत्या रोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घरेलु हिंसा, कम दाइजो ल्याएपछि सासूससुरा र पतिबाट कुटपिट भएको, पति परस्त्रीसँग लागेको थाहा पाएर, पति रोजगारीमा बाहिर रहेको अवस्थामा श्रीमतीको सम्बन्ध अन्य पुरुषसँग गाँसिएको अवस्थामा पतिले थाहा पाएपछि महिलाले आत्महत्या गरेको घटनाव्रmमले देखाएको प्रहरीको भनाइ छ ।
आत्महत्या घटना न्यूनीकरण गर्न तत्काल, मध्यम र दीर्घकालीन उपाय अपनाउन आवश्यक रहेको मनोविज्ञानका प्राध्यापक रामनरेश दासले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा पहिले सङ्कटमा परेका व्यक्तिलाई तुरुन्त सहयोग गर्न चौबिसै घण्टा सञ्चालन हुने हेल्पलाइन सेवा र आकस्मिक मनोवैज्ञानिक परामर्श केन्द्र स्थापना गर्नु पर्छ ।” स्वास्थ्य संस्था र समुदायस्तरमा प्रशिक्षित परामर्शदाता उपलब्ध गराई मानसिक सहयोग सहज बनाउनुपर्ने उहाँले सुझाउनुभयो ।
मधेशमा विभिन्न कारणले तनावमा आएर मुख्यतः झुन्डिएर, विषपान गरेर आत्महत्याको बाटो अपनाउने गरेको देखिन्छ । आत्महत्याले परिवारमा विचलन आउने हुँदा सचेत र सजग भई यस घटनालाई निरुत्साहित गर्नु आवश्यक छ ।