जनकपुर । विद्युतिय सुरक्षामा सावधानी नअपनाउँदा मधेश प्रदेशमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । करेन्ट लागेर मृत्यु भएकाहरुमध्ये अधिकांश किसान नै रहेको तथ्याङ्कले देखाएको छ । पर्याप्त पानी नपर्दा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गरिने क्रममा असावधानीका कारण करेन्ट लागेर खेतमै ज्यान गुमाउने किसानको सङ्ख्या अधिक रहेको पाइएको छ ।
मधेश प्रदेशका आठ वटै जिल्लामा धान खेती समयमा पानी कम हुँदा वा वर्षा नहुँदा बोरिङ, नहर, कुलो, पैनी, पोखरी, नदीमा पानी तान्ने मोटर लगाएर खेत सिँचाइ गर्ने बाध्यात्मक अवस्था रहेको छ । खेतमा सिँचाइ जस्तै घरको चापाकलमा पानी तान्न जडान गरिएको मोटरबाट करेन्ट लागेर पनि मृत्यु भइरहेको घटनाहरू केही बाहिर आउने गरेका छन् ।
करेन्ट लागेर किसानको मृत्यु
यही साउन २३ गते धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगर बस्ने वर्ष ४५ का शिवजी मण्डलको खेतमा करेन्ट लागेर मृत्यु भएको छ । यस्तै, सोही दिन सप्तरीको रूपनी गाउँपालिका–३, कटैयामा ४२ वर्षीय शम्भुकुमार इसरको पनि करेन्ट लागेर मृत्यु भयो ।
यसअघि साउन १८ गते रौतहटको इशनाथ नगरपालिका–८, मंसरी टोलबस्ने ५५ वर्षीय शेख जफिरको धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । साउन ७ गते धनुषामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर हंसपुर नगरपालिका–३, मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भयो । साउन १४ गते सिराहा नगरपालिका–१०, नरहिया बस्ने ४५ वर्षीया सविता कामतीको आफ्नै घरमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर मृत्यु भयो ।
साउन १० गते सप्तरीको खडक नगरपालिका–११ का ५८ वर्षीय मो युनुस मियाँ, साउन ३ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका–४, टेङ्गरीमा ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भयो ।
यसैगरी, साउन ९ गते सप्तरीको रूपनी गाउँपालिका–२, पौवा टोलमा दम्पत्ति ४७ वर्षीय बालेश्वर खङ्ग र ४५ वर्षीया श्रीमती रामकुमारी खङ्गको आफ्नै सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । यस्तै, साउन ८ गते रौतहटको मौलापुर नगरपालिका-७ निवासी एवम् प्रवक्ता चन्द्रेश्वर बैठाको खेत सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । ७ गते माधव नारायण–४, बिसनपुर्वा मानपुर बस्ने ४० वर्षीय रामबाबु मुखिया, कटहरीया–२, जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
साउन २ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ मा ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।
उपरोक्त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । अझै धेरै जनालाई सचेत नभइ विद्युतीय उपकरण प्रयोग गर्ने क्रममा ज्यान गुमाउनु परेको छ । असावधानी, लापरबाही एवम् जडान गरेका पोलमा अर्थिङ जडान नगरेका कारण करेन्ट लाग्ने समस्या आइरहेको नेपाल विद्युत् प्राधिकरणको बुझाइ छ ।
करेन्टले मृत्यु भएकाको यस्तो छ तथ्याङ्क
यता मधेश प्रदेशमा तीन वर्षमा ३२४ जनाको करेन्ट लागेर मृत्यु भइसकेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा करेन्ट लागेर ११९ जनाको मृत्यु भएको छ । मृतकमध्ये पुरुष ८४, महिला १८ बालक १३ र बालिका चार जना रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक २०८०/०८१ मा करेन्ट लागेर ७० पुरुष, २२ महिला, पाँच बालक र एक बालिका गरी ९८ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १०७ जनाको करेन्ट लागेर मृत्यु भएको छ । जसमा पुरुष ८३, महिला १४, बालक तीन र बालिका सात जना रहेका छन् ।
यस्ता छन् करेन्ट लाग्नबाट जोगिने उपाय
विद्युत् करेन्टबाट बच्नका लागि सुरक्षित तार र उपकरण प्रयोग, घरमा अनिवार्य रूपमा अर्थिङ र आरसिबी/एमसिबी जडान, पानी नजिक करेन्ट नचलाउने, भिजेको हातले स्विच नछुने र बालबालिकालाई सचेत गराउने जरुरी छ । मर्मत गर्दा मुख्य स्विच बन्द गरी रबरका पञ्जा–चप्पल प्रयोग गर्नुपर्छ । करेन्ट लागेमा प्रत्यक्ष नछुने, सुकेको काठ, बाँस, लठठी वा प्लास्टिकको सहायताले छुट्याउने र घाइते भएमा तुरुन्त प्राथमिक उपचार गरी अस्पताल पुर्याउन ढिलाइ गर्नु हुँदैन ।