विशाल यादव /पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा शुक्रबार आयोजना गरिएको वृक्षारोपण कार्यक्रम अर्केस्टा नचाएर सम्पन्न भएको छ। नेपालमा औपचारिक कार्यक्रमहरूमा अर्केस्टा प्रयोग गर्न निषेध भए पनि पालिकाले ठूलो खर्च गरेर नाचगानको आयोजना गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्।
जगरनाथपुर गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा पूर्व वाणिज्य मन्त्री तथा पर्सा–४ का प्रतिनिधि सभा सदस्य रमेश रिजाल प्रमुख अतिथि थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति थियो।
स्थानीयवासीका अनुसार जनताको करको रकम अनावश्यक रूपमा मनोरञ्जनमा खर्च गर्नु स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५(२)(छ) र आर्थिक अनुशासन सम्बन्धी ऐन, २०५६ का दफा ४ र ५ को उल्लङ्घन हो। यी प्रावधानअनुसार स्थानीय तहले सार्वजनिक रकम योजनाको मूल उद्देश्यअनुसार मात्र पारदर्शी र दिगो विकासका कार्यमा खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, वृद्धभत्ता उमेर पुगेका सांसदलाई अर्केस्टा नचाएर स्वागत गर्नु “जनताको पैसामा विलासिता” भएको स्थानीयको टिप्पणी छ।
कार्यक्रममा वातावरण संरक्षण र हरियाली विस्तारको उद्देश्यसहित वृक्षारोपण गरिए पनि, नाचगानका लागि अर्केस्टा बोलाउने कार्यले उक्त उद्देश्यको महत्व घटाएको स्थानीयवासीको भनाइ छ। एक सहभागीले भने, “वृक्षारोपणमा अर्केस्टा नचाएर खर्च गर्नेभन्दा संरक्षण र सिँचाइमा रकम लगानी गर्नु उपयुक्त हुन्थ्यो।”
कार्यक्रममा कति वटा बिरुवा रोपियो भन्नेबारे स्पष्ट तथ्यांक सार्वजनिक नगरिए पनि, दीर्घकालीन संरक्षणको लागि कुनै ठोस योजना नबनाइएको भन्दै आलोचना भएको छ। अर्का एक स्थानीयले टिप्पणी गर्दै भने, “बिरुवा रोप्नेभन्दा त्यसको संरक्षण नै महत्वपूर्ण हो, नभए यस्तो कार्यक्रम देखाउनका लागि गरिएको चटक मात्र हुन्छ।”