वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दा दर्ता भई जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भई फरार रहेका पूर्वअसई श्यामसुन्दर साहले आफूविरुद्धको समाचारलाई भ्रामक दाबी गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्।
‘ज्योति दैनिक’को आधिकारिक फेसबुक पेजमार्फत “पूर्वअसई श्यामसुन्दर साहविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी, प्रहरीकै संरक्षणमा फरार” शीर्षकमा समाचार प्रकाशित भएपछि साहले उक्त समाचारलाई कपि–पेस्ट, तथ्यविहीन र चरित्रहत्या गर्ने किसिमको भएको आरोप लगाएका छन्।
उनले प्रत्यक्ष सम्पर्क नगरी समाचारमा “बारम्बार सम्पर्क प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन्” भन्ने उल्लेख गलत भएको र आफ्नै फोटो प्रयोग गरी सामाजिक सञ्जालमा सार्वजनिक गरिनु प्रतिष्ठा हानि गर्ने काम भएको बताए। प्रेस काउन्सिलमा दिएको उजुरीमा साहले, “माथि लगाइएका ठगी, धम्की र अवैध सम्पत्ति आर्जनका गम्भीर आरोप प्रमाणविहीन छन्, जसले मेरो इज्जतमाथि गम्भीर आघात पुर्याएको छ,” भनी उल्लेख गरेका छन्।
साहले विवादित समाचार तत्काल हटाउन, प्रकाशनगृहसँग स्पष्टीकरण माग्न र भविष्यमा यस्ता अपुष्ट तथा कपि–पेस्ट समाचार प्रकाशित नगर्न निर्देशन दिनुपर्ने माग गरेका छन्। साथै पत्रकार आचारसंहिता र प्रेस काउन्सिल ऐनअनुसार कारबाही गर्नुपर्नेमा समेत जोड दिएका छन्।
यसअघि गत साउन १० गते वीरगञ्ज बसपार्कस्थित देव दरबार होटेलका सञ्चालक देवप्रकाश चौरसियाले साहविरुद्ध ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा गरिएको अनुसन्धानपछि साहसहित अन्य केही संलग्न रहेको ठहर गर्दै साउन १५ गते मिसली नं. ९८ मा ठगी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरीले जनाएको छ।
यस विषयमा बुझ्न गरिएको प्रयासका क्रममा पूर्वअसई साहले “म माथि मुद्दा दर्ता भएको” स्वीकार गर्दै कुन के प्रक्रियाले दर्ता भएको त्यो कुरा मात्र मलाई थाह भएको बताउँदै फोन काटिदिएका थिए।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पूर्वअसई साहविरुद्ध ठगी गरेको पर्याप्त प्रमाण प्राप्त भएकै आधारमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिइएको बताए। उनले साह हाल फरार रहेको र खोजतलास जारी रहेको जानकारी दिए।