पर्सा । निजी विद्यालयविरुद्ध शिक्षा विधेयकमा समावेश गरिएका केही प्रावधानहरूको विरोध स्वरूप प्याब्सन, एन–प्याब्सन र हिसान पर्साले सोमबार पर्साबाट प्रतिनिधिसभा सदस्य तथा शिक्षा समितिका सदस्य राप्रपाकी सांसद बिना जैसवाललाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्र बुझाउने क्रममा प्याब्सन जिल्ला अध्यक्ष सरोज चौधरी, सचिव अशोक सङ्रौला, वरिष्ठ उपाध्यक्ष सुशिला साह, केन्द्रीय सदस्य छेडुप लामा, र वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवसहितको टोली सहभागी थियो।
निजी विद्यालय सञ्चालक संघहरूले शिक्षा विधेयकले उनीहरूको अस्तित्व र अधिकार कमजोर पार्ने खालका प्रावधान राखिएको भन्दै आपत्ति जनाउँदै आएका छन्। उनीहरूको भनाइमा, विधेयक पारित भएमा निजी विद्यालयहरूको भविष्य संकटमा पर्नुका साथै गुणस्तरीय शिक्षा कमजोर हुने सम्भावना छ।
ज्ञापनपत्रमार्फत उनीहरूले विवादास्पद प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने,निजी विद्यालयलाई शिक्षामा साझेदारको रूपमा मान्यता दिनुपर्ने,नीति निर्माणमा निजी क्षेत्रको सुझावलाई प्राथमिकता दिनुपर्ने मांग राखेका छन।
सांसद बिना जैसवालले ज्ञापनपत्र ग्रहण गर्दै मागहरूबारे शिक्षा समितिमा छलफल गर्ने र आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिइन्।
यसअघि पनि प्याब्सन, एन–प्याब्सन र हिसानले शिक्षा विधेयक संशोधनको माग गर्दै देशभर आन्दोलनी कार्यक्रम सञ्चालन गर्दै आएका छन्।