पर्सा । वीरगञ्ज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको सम्मानमा स्थापना गरिएको “Best Integrity"( उत्कृष्ट निष्ठा)पुरस्कार” सोमबार एक विशेष समारोहका बीच वितरण गरेको छ।
कार्यक्रममा संघका अध्यक्ष हरि गौतम तथा सशस्त्र प्रहरी महानिरीक्षक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई रु. २५,००० नगदसहित सम्मानपत्र प्रदान गर्दै पुरस्कृत गर्नुभयो।
स्व. थपलियाको सत्यनिष्ठा, इमानदारी र कर्तव्यपरायणताको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारमार्फत सुरक्षाकर्मीलाई इमानदार, निस्वार्थ र समर्पित भावनाले काम गर्न प्रोत्साहित गर्ने उद्देश्य लिइएको संघले जनाएको छ।
समारोहमा संघका उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोझ रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेशकुमार टिबडेवाल, प्रशासकीय अधिकृत मनोज उपाध्यायलगायत पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
सशस्त्र प्रहरी महानिरीक्षक ढकालले लोकेन्द्र सुब्बाले देखाएको कार्यशैली, कर्तव्यनिष्ठा र इमानदारीले संगठनको मर्यादा उचाल्न महत्वपूर्ण योगदान पुर्याएको बताउँदै योग्य व्यक्तिलाई पुरस्कार दिन पाउँदा गर्व महसुस भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, संघका अध्यक्ष हरि गौतमले पुरस्कारलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निजी क्षेत्र र सुरक्षाकर्मीबीच आपसी सहकार्य तथा विश्वासकै आधारमा शान्ति–सुरक्षाको वातावरण मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।
संघका अनुसार यो पुरस्कार वार्षिक रूपमा उत्कृष्ट सत्यनिष्ठा प्रदर्शन गर्ने सशस्त्र प्रहरीलाई प्रदान गरिनेछ।