जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार शिक्षा सुधारको अवधारणासहित अघि बढिरहेको बताएका छन् ।
मंगलबार जनकपुरधाममा मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । सो कार्यक्रममा एसईई परीक्षा २०८१ मा धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी जिल्लाका स्थानीय तहबाट उत्कृष्ट नतिजा ल्याएका छात्र–छात्रालाई साइकल वितरण गरिएको थियो ।
मुख्यमन्त्री सिंहले शिक्षाको गुणस्तर दिनानुदिन खस्किँदै गएको उल्लेख गर्दै यसको सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको सामूहिक प्रयास आवश्यक भएको बताए । उनले कमजोर परिणामका बाबजुद उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना दिए ।
राष्ट्रको भविष्यलाई अघि बढाउने जिम्मेवारी युवाको काँधमा आउने भएकाले समृद्धि र विकासमा योगदान दिन विद्यार्थीलाई आग्रह गर्दै मुख्यमन्त्री सिंहले विगतमा मधेश प्रदेशले शिक्षामा बनाएको पहिचानलाई पुनः स्थापित गर्न योजनाबद्ध ढंगले काम अघि बढाइने बताए ।
सिंहले मधेश प्रदेश लोकसेवा आयोगमार्फत २०७५ सालदेखि रोकिएको परिणामलाई सरकारले पदाधिकारी नियुक्ति गरेर अघि बढाएको र हालसम्म करिब ५५० जना कर्मचारी सिफारिस भइसकेको जानकारी दिए । उनले आयोगले ५० प्रतिशत महिलाको आरक्षण व्यवस्था गरेको भए पनि कतिपय अवस्थामा महिला दरखास्त नपरेकाले पद खाली रहने गरेको उल्लेख गर्दै महिलालाई लोकसेवामा आवेदन दिन आग्रह गरे ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीप्रति अभिभावकले ध्यान दिएमा शैक्षिक गुणस्तरमा ठूलो सुधार हुने भन्दै सबै सरोकारवालाले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रयास गर्नुपर्नेमा उनले जोड दिए।
शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पाँच जिल्लाका जेहेनदार विद्यार्थीका लागि मन्त्रालयलाई साइकल हस्तान्तरण गरेको थियो ।
शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत लक्ष्मण रामका अनुसार पाँच जिल्लाका स्थानीय तहबाट सिफारिस भएका १५० जनालाई साइकल वितरण गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा भारतको महाबाणिज्य दूतावास वीरगन्जका प्रमुख देवी सहाय मिना, नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रा, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुरसहितको उपस्थित थियो ।