पर्सा। पर्सा जिल्ला भरिका मतदाता यतिबेला खेतबारीमा तोरी उखेल्ने र भित्र्याउने काममा व्यस्त छन्। ग्रामीण भेगमा खेतीपातीको चटारो छ भने बजार क्षेत्रमा दैनिक रोजगारी र व्यापारको दौडधूप चलिरहेको छ। तर जनजीवनको व्यस्तताबीच प्रतिनिधिसभा निर्वाचनको चर्चा पनि उत्तिकै चुलिएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो, सभा–समारोह र भेटघाट बाक्लिएको छ। तर मतदातामा उत्साहभन्दा बढी निराशा देखिन थालेको छ।
ग्रामीण क्षेत्रका किसान तथा मजदुरहरू भन्छन्, चुनावअघि नेताहरू गाउँ–गाउँ पुगेर अनेक आश्वासन बाँड्छन्, तर निर्वाचित भएपछि फर्केर नआउने प्रवृत्ति दोहोरिँदै आएको छ। खेतीपाती, ज्यालामजदुरी, सानो व्यापार र पशुपालनबाट जीविका चलाइरहेका उनीहरूका लागि चुनावी नाराभन्दा दैनिक गुजारा नै ठूलो चिन्ताको विषय बनेको छ। फुर्सदका बेला भने उनीहरूबीच एउटै प्रश्न उठ्छ—“यसपालि कसलाई मत दिँदा हाम्रो पीडा सुन्छ?”
उम्मेदवारहरूले बाढी नियन्त्रण, नदीमा तटबन्ध निर्माण, हुलाकी तथा ग्रामीण सडक स्तरोन्नति, शिक्षा–स्वास्थ्य सुधार र रोजगारी सिर्जनाजस्ता पुरानै मुद्दा दोहोर्याइरहेका छन्। तर स्थानीयका अनुसार वर्षौँदेखि दोहोरिँदै आएका प्रतिबद्धताले अब विश्वास जित्न नसकेको अवस्था छ।
वीरगञ्ज महानगरदेखि ग्रामीण पालिकासम्म बाढी, डुबान, मल अभाव, बेरोजगारी र स्वास्थ्य सेवाको पहुँच मुख्य समस्या बनेका छन्। शरिस्वा नदी लगायतका नदीहरूको बाढीका कारण हरेक वर्ष बस्ती डुबानमा पर्ने, सडक भत्किने र खेतीयोग्य जमिन क्षति हुने गरेको स्थानीयको गुनासो छ।
जिल्लाका विभिन्न पालिकाका बासिन्दा भन्छन्, “नयाँ–पुराना सबै दलका उम्मेदवारले समस्या समाधानको आश्वासन दिन्छन्, तर चुनावपछि फर्केर आउने कोही हुँदैन।” उनीहरूका अनुसार किसानका समस्या, सिँचाइ अभाव, मलको अनियमित आपूर्ति र रोजगारीको कमीले पर्साको अवस्था जटिल बन्दै गएको छ।
सीमावर्ती क्षेत्रका बासिन्दाले मल र औषधि अभावका कारण भारततर्फ निर्भर हुनुपरेको गुनासो गरेका छन्। “नेपालमै सहज सेवा नपाउँदा सीमापार जानुपर्छ। चुनावका बेला मिठा कुरा गरेर मत लिन्छन्, पछि चासो दिँदैनन्,” एक स्थानीयले बताए।
स्थानीयहरू नेताप्रति असन्तुष्ट देखिन्छन्। “मत माग्दा असम्भव काम पनि सम्भव बनाउँछु भन्छन्, तर पूरा हुने आशा कम छ,” अर्का एक मतदाताले भने।
जिल्लास्तरमै योजना कार्यान्वयनमा प्रभावकारी पहल नहुँदा प्रदेश र संघीय सांसदप्रति ठूलो अपेक्षा राख्न कठिन भएको मतदाताको भनाइ छ। सामान्य उपचारपछि औषधि खरिद गर्न र विशेष सेवा लिनसमेत बाहिर जानुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।
निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लाभर
उम्मेदवारहरूको चहलपहल बढेको छ। तर यसपटक मतदाता आश्वासनभन्दा परिणाम खोजिरहेका छन्। उनीहरूको एउटै प्रश्न छ—“यो चुनावपछि को फर्केर आउला?”