पर्सा । वीरगञ्जमा आयोजना हुन लागेको ‘विद्यार्थी महोत्सव र नेपाल शिक्षा मेला २०८३’ माथि विभिन्न कोणबाट गम्भीर प्रश्न उठ्न थालेका छन्। विशेषगरी +२ अध्ययनरत विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी सञ्चालन गरिन लागेको उक्त कार्यक्रम वास्तविक शैक्षिक मार्गदर्शनभन्दा बढी व्यापारिक प्रचारप्रसार र प्रभाव विस्तारको माध्यम बन्न खोजिएको आरोप लाग्न थालेको हो।
आकर्षक नारासहित प्रचार भइरहेको उक्त कार्यक्रममा निजी कलेज, विदेशी सम्बन्धन प्राप्त संस्था, कन्सल्टेन्सी तथा एजेन्टहरूको प्रभाव बढ्दै गएको भन्दै शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन्। “विद्यार्थीको भविष्य निर्माण”, “विश्वस्तरीय शिक्षाको पहुँच” तथा “ग्लोबल अवसर” जस्ता शब्द प्रयोग गरेर विद्यार्थी र अभिभावकको मनोविज्ञानमाथि प्रभाव पार्ने प्रयास भइरहेको आरोप समेत लागेको छ।
शिक्षाविद्हरूका अनुसार यस्ता मेलामा निष्पक्ष शैक्षिक परामर्शभन्दा संस्थागत प्रचारप्रसारलाई प्राथमिकता दिइने प्रवृत्ति बढ्दो छ। आकर्षक स्टल, छात्रवृत्तिको लोभ, विदेश अध्ययनका सपना तथा “कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री” जस्ता प्रचारले विद्यार्थीलाई भ्रमित बनाउन सक्ने उनीहरूको भनाइ छ।
विशेषगरी करियर चयनको संवेदनशील चरणमा रहेका विद्यार्थीहरूलाई मोबाइल, एयरबड्स, पावर बैंक लगायतका उपहारको आकर्षण देखाइनुले कार्यक्रमको शैक्षिक उद्देश्यभन्दा व्यापारिक उद्देश्य हावी भएको आलोचना भइरहेको छ। अभिभावकहरूले पनि यस्ता गतिविधिले विद्यार्थीको ध्यान वास्तविक अध्ययन र भविष्यको गम्भीर निर्णयभन्दा बाहिरी आकर्षणतर्फ मोड्ने चिन्ता व्यक्त गरेका छन्।
शिक्षा सुधारको नारा दिइरहेको वर्तमान अवस्थामा यस्ता कार्यक्रमले निजी तथा विदेशी प्रभावमा आधारित शैक्षिक बजारलाई थप विस्तार गर्ने माध्यम बनेको विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार यदि कार्यक्रम साँच्चिकै विद्यार्थी केन्द्रित हो भने करियर काउन्सिलिङ, सीप विकास, स्वदेशमै उपलब्ध अवसर, अनुसन्धान, नवप्रवर्तन तथा मनोसामाजिक मार्गदर्शनलाई प्राथमिकता दिनुपर्छ। तर अधिकांश गतिविधि प्रचार, भर्ना र बजार विस्तारमा केन्द्रित देखिएको आरोप छ।
यसैबीच, यस्ता कार्यक्रमको नियमन र अनुगमनबारे पनि प्रश्न उठेको छ। शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित निकायको अनुमति, सहभागी संस्थाको वैधानिकता तथा प्रचार सामग्रीको सत्यताबारे स्पष्ट मापदण्ड आवश्यक भए पनि प्रभावकारी निगरानी नदेखिएको गुनासो बढ्दो छ।
यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी Bhola Dahal सँग बुझ्न खोज्दा आफूलाई कार्यक्रमबारे औपचारिक जानकारी नरहेको तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइएको विषयमा समेत स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
शिक्षा क्षेत्रलाई सेवाभन्दा व्यापारको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै सरोकारवालाहरूले यस्ता “विद्यार्थी महोत्सव” तथा “शिक्षा मेला” लाई थप पारदर्शी, जिम्मेवार र विद्यार्थी–केन्द्रित बनाउन सरकार तथा नियमन निकाय गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।