रौतहट । रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीस्थित टिकुलियाघाट पुल निर्माणको काम सुस्त गतिमा अघि बढेको छ । पछिल्ला दिनहरूमा निर्माण कार्य थप ढिलाइ भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ ।
सडक डिभिजन कार्यालय रौतहटका प्रमुख अरुणकुमार लाल कर्णका अनुसार पर्याप्त बजेट अभावका कारण पुल निर्माणले गति लिन सकेको छैन ।
उहाँका अनुसार गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माणाधीन पुलका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट सकिएको छ । निर्माण कम्पनीले रनिङ बिल पेस गरेअनुसार करिब चार करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुल निर्माणका लागि चालु आर्थिक वर्षमा छुट्याइएको दुई करोड रुपियाँ खर्च भइसकेको छ । निर्माण कम्पनीले पेस गरेको बिलअनुसार करिब चार करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।”
छ स्पानमध्ये पाँच स्पानको ढलान कार्य पूरा भइसकेको छ भने बाँकी काम बजेट अभावका कारण अघि बढ्न नसकेको कार्यालयले जनाएको छ ।
टिकुलियाघाट पुल भ्याटसहित २७ करोड ६६ लाख ८ हजार १७६ रुपियाँ लागतमा निर्माण गर्ने गरी २०८० असोज ९ गते आजाद दिपु एन्ड कम्पनी जेभीसँग सम्झौता गरिएको थियो । २०८३ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मा दिइएको हो ।
निर्माण कम्पनीका प्रोपाइटर रामसागर चौरसियाले सामग्रीको मूल्य वृद्धि र भुक्तानी नहुँदा काम सुस्त भएको बताउनुभयो । उहाँले सम्पन्न कामको रनिङ बिल पेस गरे पनि भुक्तानी नपाएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “करिब चार करोड रुपियाँ बराबरको काम सम्पन्न भइसकेको छ, तर भुक्तानी पाएका छैनौँ ।” दिपेन्द्रकुमार साहका अनुसार पुलको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति र २१.३३ प्रतिशत आर्थिक प्रगति भएको छ ।
कार्यालय प्रमुख कर्णले समयमै निर्माण सम्पन्न गर्न आवश्यक बजेट माग गरे पनि मन्त्रालयबाट ढिलाइ भइरहेको गुनासो गर्नुभयो ।
यसअघि यही पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । २०७१ असार २९ मा सम्झौता भएको उक्त योजना २०७४ असार २५ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर समयमै काम पूरा नभएपछि २०८० असार १५ मा ठेक्का तोड्दै कम्पनीलाई कालोसूचीमा राखिएको थियो ।