वीरगञ्ज । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मधेस प्रदेशमा वैशाख २८ गते बसेको मन्त्रीपरिषदको बैठकले जेठ १ गते विश्वासको मत लिने गरेको निर्णयअनुसार मधेसका मुख्यमन्त्री कृष्णा कुमार यादवले आज शुक्रबार बस्ने प्रदेशसभाको वैठकमा विश्वासको मत लिन लागेका छन्। आज बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासका मत लिनका लागि प्रस्ताव पेश गर्ने र विभिन्न दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेशका सभामुख राम अशिष यादवले बताएका छन्।
मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानुन बमोजिम सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
मधेश प्रदेशसभामा हाल कायम रहेको १०२ जना प्रदेशसभा सदस्यमा मधेश प्रदेश सरकारलाई बहुमतका लागि ५२ जना प्रदेशसमा सदस्यको समर्थन आवश्यक पर्छ । अहिले पनि मधेश प्रदेश सरकारसँग सरकारमा सहभागी दलहरु मध्ये नेपाली काँग्रेसको २२ जना, जसपा नेपालको २६ र नेपाली कम्युनिष्ट पार्टीका १५ जना प्रदेशसभा सदस्य सहित ६३ जना प्रदेशसभा सदस्यको समर्थन कायम छ ।
१०७ सदस्यीय मधेश सभामा सरकार बनाउनको ५४ सदस्यको समर्थन चाहिन्छ।