जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभामा निर्णायक रहेको जनता समाजवादी पार्टी नेपालले भने मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे आफ्नो धारणा प्रस्ट पारिसकेको छैन ।
मुख्यमन्त्री यादवले आज प्रदेश सभामा ११ बजे विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दैछन् । त्यसअघि विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफलका लागि जसपा नेपालको संसदीय दलको बैठक जनकपुरमा बसिरहेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा फरक–फरक कुरा आइरहेका छन् । स्रोतका अनुसार अधिकांशले जसपा नेपाल अब सत्ता बाहिर बस्नुपर्ने धारणा राखिरहेका छन् भने कतिपयले यो सरकारलाई विश्वासको मत दिन नहुने धारणा राखेका छन् ।
यसअघि बसेको संसदीय दलको बैठकले वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो । जसपा नेपाल र लोसपा नेपालबिचको एकता टुङ्गो लागेपछि मधेस सरकारमा पनि नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने भन्दै जसपा नेपालको बैठक चलिरहेको छ ।
मधेस प्रदेश सभामा २६ जना सांसदसहित जसपा नेपाल सबैभन्दा ठुलो दल छ । ठुलो दलको नाताले जसपा नेपालले सरकारमा दाबी गर्नुपर्ने कुरा पनि बैठकमा उठेको छ । तर सरकारको नेतृत्व गर्दै आएको दल नेपाली कांग्रेस तत्कालै जसपा नेपाललाई सरकार सुम्पिने पक्षमा छैन ।
उता, एमालेसँग मिलेर सरकार बनाउने कुरामा जसपा नेपालका अधिकांश प्रदेश सभा सदस्यले विरोध जनाइरहेका छन् ।
यस अवस्थामा जसपा नेपालको भूमिका कस्तो रहने भन्ने विषयमा छलफल चलिरहेको छ । जसपा नेपालका नेता शैलेन्द्र साहले पार्टी संसदीय दलको बैठकले यसबारे आवश्यक निर्णय लिने बताए । उनले भने, ‘हिजोसम्म वर्तमान गठबन्धनलाई नै अगाडि बढाउने कुरा थियो, आज बैठक बसिरहेको छ । बैठकले गर्ने निर्णयका आधारमा अघि बढ्छौँ ।’
जनमत पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । जनमत पार्टीले आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले आफूहरू सरकारबाट समर्थन फिर्ता लिएर बाहिर बसेको, अब बल जसपा नेपालको कोर्टमा रहेको बताए ।
जसपा नेपालले गर्ने निर्णयको आधारमा मधेस प्रदेशको कोर्स अगाडि बढ्ने उनले बताए । ‘जसपा नेपालसँग सल्लाह गरेर जनमतले सरकारबाट समर्थन फिर्ता लिएको हो ?’ भन्ने जिज्ञासामा उनले कुनै प्रतिक्रिया दिन मानेनन् ।
स्रोतका अनुसार मधेस प्रदेशको सरकारको विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, संरक्षक महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबिच कुराकानी भएको छ । उनीहरूको बिचमा भएको छलफलको विवरण भने बाहिर आएको छैन ।