पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राजेशमान सिंह विरुद्ध जिल्ला अदालत पर्सामा चार वटा मुद्दा दायर गरेको छ । अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर जन्मदर्ता, नागरिकता तथा राहदानी लगायतका सरकारी कागजात बनाइएको आरोपमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।
सरकारी वकिलका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैया निवासी लियाकत अलिले २०८० साल माघ महिनामा जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । उजुरीमा मेयर सिंहले किर्ते जन्मदर्ता तयार गरी त्यसकै आधारमा नागरिकता, राहदानी तथा अन्य सरकारी कागजात अर्काकी छाेरीलाई बनाइदिएको आरोप लगाएको थियो ।
उजुरीमा महानगरका मेयर राजेशमान सिंहले रिता भट्टराइकी छाेरीलाई आफ्नाे भनी किर्ते जन्मदर्ता बनाएर नागरिकता र रहदानी बनाएकाे भनी उजुरी दिएका थिए ।
उक्त उजुरीपछि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान प्रक्रिया सुरु गरे पनि लामो समयसम्म अनुसन्धान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन । उजुरी दर्ता भएको समयमा तत्कालीन प्रहरी उपरीक्षक कोमल शाह पर्सामा कार्यरत थिए । त्यसपछि क्रमशः कुमोद ढुंगेल, गौतम मिश्र र हालका प्रहरी उपरीक्षक सुदीप राज पाठकको कार्यकालसम्म पनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको थिएन् ।
प्रहरीले उजुरीमाथि आवश्यक अनुसन्धान नगरेको भन्दै उजुरी कर्ता उच्च अदालत वीरगञ्ज अस्थायी इजलास, जनकपुरमा रिट दायर गरेका थिए । अदालतले प्रहरी प्रशासनलाई तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो । सोही आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले विस्तृत अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियाे ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मेयर सिंह विरुद्ध झुठा विवरण पेस गरि नागरिकता बनाएकाे र लिखत सम्बन्धि कसुर २÷ २ वटा मुद्दा दायर भएकाे छ ।
नागरिकता किर्ते सम्बन्धी मुद्दा २०८० साल पुसमा पत्रकार जियालाल साहले “सिधाकुरा” मार्फत खुलासा गरेका थिए । समाचार सार्वजनिक भएपछि विषयले व्यापक चर्चा पाएको थियो।
तर, मुद्दामाथि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा पत्रकार साहमाथि नै मेयर राजेशमान सिंहले लिखित बेइज्जती, गाली बेइज्जती तथा साइबर अपराध सम्बन्धी मुद्दा दायर गरेका छन् । पत्रकार साह विगत डेढ वर्षदेखि विभिन्न मुद्दा खेप्दै आएका छन् ।
सरकारी वकिलको कार्यालयले दायर गरेकाे मुद्दाले अहिले वीरगञ्जको राजनीतिक वृत्तमा व्यापक तरंग सिर्जना गरेको छ ।