बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा दुई घरधुरी मात्र वास्तविक सुकुमबासी रहेको भेटिएको छ ।
डिभिजन वन कार्यालय, बाराको नेतृत्वमा स्थानीय प्रहरी प्रशासन, पर्सा राष्ट्रिय निकुञ्ज, वनरक्षक, कर्मचारी र सडक डिभिजन कार्यालय, हेटौँडाको संयुक्त टोलीले सो अतिक्रमण हटाएको हो ।
महेन्द्र राजमार्गको दायाँबायाँ २५र२५ मिटर सडक क्षेत्रबाहेक वनदेवी सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अतिक्रमण गरी बसोबास गर्ने ३५ घरधुरीलाई हटाइएको वन कार्यालयले जनाएको छ।
वन अधिकृत ललन राउतका अनुसार अतिक्रमण हटाइएका ३५ घरधुरीमध्ये प्रारम्भिक जानकारीमा दुई परिवारको मात्र अन्यत्र घरबास नभएको सूचना प्राप्त भएको हो ।
‘सबैको सामान हेटौँडातर्फ गइरहेको छ,’ वन अधिकृत राउतले भने, ‘अहिलेसम्म वास्तविक सुकुमबासी कोही भेटिएका छैनन् ।’
वन कार्यालयले अतिक्रमण हटाउनुअघि नै करिब दुई साताअगाडि अन्यत्र घरबास नहुनेहरूलाई स्थानीय तहमा जानकारी गराउन सूचित गरेको थियो ।
यो स्थानमा महेन्द्र राजमार्ग सञ्चालनमा आएदेखि अर्थात् २०३५ सालदेखि नै होटल व्यवसाय सञ्चालन हुँदै आएका थिए । यहाँका अधिकांश होटल सञ्चालकहरू हेटौँडाका स्थायी बासिन्दा हुन् ।
डिभिजन वन अधिकृत सुजित कुमार झाका अनुसार सडक, वन र निकुञ्ज क्षेत्र अतिक्रमण गरी बस्ने अधिकांशको अन्यत्र घरजग्गा रहेको पाइएको छ ।
‘३५ घरधुरीमध्ये धेरैको हेटौँडा र पथलैयामा घर रहेछ । यदि घरजग्गा नहुने कोही हुनुहुन्छ भने सम्पर्कमा आउनुस्, हामीले स्थानीय तहलाई पत्र लेखिदिनेछौँ,’ डिभिजन वन अधिकृत झाले भने, ‘वन ऐन, २०७६ले को भूमिहीन, को सुकुमबासी भनेर चिन्दैन । हाम्रो कानुनले त अतिक्रमण गर्नेलाई समातेर कानुनी कारबाही गर्न भन्छ ।’
वन कार्यालयको नेतृत्वमा आजदेखि सुरु भएको यो अतिक्रमण हटाउने कार्यबारे चारैतिरबाट चासो व्यक्त भइरहेको वन अधिकृत झाले जानकारी दिए । उनले वास्तविक सुकुमबासीहरू प्रमाणसहित आए सहयोग गरिने जानकारी दिए ।

अतिक्रमण हटाउने क्रममा स्थानीयले भने सामान हटाउन १५ दिनको समय दिन माग गरेका थिए । तर, सडक डिभिजन कार्यालय, हेटौँडा र वन कार्यालयले वैशाख पहिलो साता नै तीनदिने सूचना जारी गर्दै महेन्द्र राजमार्गको पथलैया–अम्लेखगञ्ज–चुरियामाई मन्दिरसम्म अनधिकृत रूपमा वन अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन निर्देशन दिएका थिए ।
पटकपटकको सूचनालाई बेवास्ता गर्दै आएका स्थानीयलाई आज बल प्रयोग गरी खाली गराइएको हो ।
पटकपटकको सूचनालाई बेवास्ता गर्दै आएका स्थानीयलाई आज बल प्रयोग गरी खाली गराइएको हो ।

यो बारा र मकवानपुरको सीमावर्ती क्षेत्र हो । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष शेखरकाजी रुम्बाले केही घरधुरीले जग्गा माग गरेको बताए । ‘अन्यत्र जग्गाजमिन नभएका केहीले हामीलाई जग्गा उपलब्ध गराइयोस् भन्दै आएका छन्,’ वडाध्यक्ष रुम्बाले भने ।

शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने कार्य साँझ ६ बजेसम्म चलेको थियो ।