काठमाडौँ । मधेसकेन्द्रित दलहरूबिच प्रयास गरिएको एकता तत्काल नहुने भएको छ ।
सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध र त्यसबाहिर रहेका मधेसकेन्द्रित दलहरूबिच एकता हुने भनी यसअघि निर्णय भएको थियो । तर, अध्यक्षहरूले पद छाड्न नमानेपछि दलहरूबिच एकता नहुने भएको हो ।
मधेसकेन्द्रित दलहरूबिच एकता हुने भनी गत चैत १९ गते सङ्घीय लोकतान्त्रिक मोर्चाले निर्णय नै गरेको थियो । मोर्चाबाट मात्रै परिवर्तन सम्भव नदेखिएकाले यसलाई भङ्ग गरेर पार्टी एकताकै लागि अगाडि बढ्ने निर्णय मोर्चाले गरेको थियो ।
वैशाखको तेस्रो साता बसेको मोर्चाको बैठकमा पार्टी एकताको विषयमा खाका नै प्रस्तुत भएको थियो । तर, पार्टीका अध्यक्षहरूले आ–आफ्नो पद नछाडेपछि अब एकता नहुने निश्चित भएको छ ।
मोर्चामा पेस भएको प्रस्तावित खाकामा नै एकता हुने सबै दलका अध्यक्षले आफ्नो पद छाड्नुपर्ने भनी उल्लेख छ । जब एकताको प्रक्रिया अगाडि बढ्यो, तब अध्यक्षहरूले पद छाड्न नमान्दा एकता प्रक्रिया नै अवरुद्ध भएको बताइएको छ ।
एकता प्रक्रिया अगाडि बढ्ने अवस्था नदेखेपछि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी मोर्चाबाट अलग नै भइसकेको छ । संरक्षक चौधरीले भने, ‘कोही पनि आ–आफ्नो पद छाड्न नमानेपछि एकता कसरी हुन्छ ? पुरानै अध्यक्षहरूलाई मानेर एकता असम्भव छ ।’
लोसपा नेपालका एक नेताले भने, ‘जेनजी आन्दोलनपछि हरेक कुरामा परिवर्तन आयो, तर मधेसको राजनीति र राजनीतिक दलमा कुनै परिवर्तन आएको छैन ।’
‘अहिलेका सबै अध्यक्षले पद छाडेर नयाँलाई नेतृत्व दिनुपर्छ, पुरानो सोच र पुरानो नेतृत्वले अब पार्टी चल्दैन,’ उनले भने। तर, मधेसकेन्द्रित दलका अध्यक्षहरूमा आफूले त्यो सोच नपाएको उनले बताए ।
हाल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएको छ । एकीकृत भएको जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर रहेका छन् ।
यसले नयाँपनको अनुभूति नदिएको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ । लोसपा नेपालका एक नेताले भने, ‘जेनजी आन्दोलनपछि हरेक कुरामा परिवर्तन आयो, तर मधेसको राजनीति र राजनीतिक दलमा कुनै परिवर्तन आएको छैन ।’
कम्तीमा दुवै जना अध्यक्ष संर
क्षक बसेर अरू कसैलाई अध्यक्ष बनाई पार्टी एकता गरेको भए एउटा राम्रो सन्देश जान्थ्यो । तर, उही पुराना नेताहरू तलदेखि माथिसम्म हावी हुँदा त्यहाँ नयाँका लागि कुनै गुन्जायस छैन । त्यो पार्टीमा नयाँलाई आकर्षण गर्ने कुनै कार्ययोजना नरहेको गुनासो ती नेताले गरे । ५४ सदस्यीय कार्यसमिति बनाइएको छ, जसमा अधिकांश पुरानै अनुहार छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले अध्यक्षहरूले पद छाड्न नमानेपछि अब दलहरूबिचको एकता प्रक्रिया अगाडि नबढ्ने देखिएको बताए ।
अहिले अन्य दलहरूबिच एकताका लागि संवाद पनि बन्द भएको छ । एकताका लागि पहिलो सर्त नै अध्यक्षहरूले पद छाड्नुपर्ने थियो ।
उनले भने, ‘मोर्चा तथा मोर्चा बाहिर रहेका दलहरूबिच एकता होस् भनी घनीभूत गृहकार्य भयो, सोहीअनुसारको खाका पनि तयार भयो । तर, अन्त्यमा अध्यक्षहरूले नेतृत्व छाड्न नमानेपछि तत्कालका लागि एकता प्रक्रिया रोकिएको हो ।’
एकताका लागि जसपा नेपाल, लोसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र नागरिक उन्मुक्ति पार्टीबिच गृहकार्य चलिरहेको थियो । त्यसमध्ये जसपा नेपाल र लोसपा नेपालबिच एकता भइसकेको छ । सोही एकता प्रक्रियामा सहभागी जनता प्रगतिशील पार्टी र तमलोपा अलग भएका छन् ।
एकताका लागि जसपा नेपाल, लोसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र नागरिक उन्मुक्ति पार्टीबिच गृहकार्य चलिरहेको थियो । त्यसमध्ये जसपा नेपाल र लोसपा नेपालबिच एकता भइसकेको छ । सोही एकता प्रक्रियामा सहभागी जनता प्रगतिशील पार्टी र तमलोपा अलग भएका छन् ।
अहिले अन्य दलहरूबिच एकताका लागि संवाद पनि बन्द भएको छ । एकताका लागि पहिलो सर्त नै अध्यक्षहरूले पद छाड्नुपर्ने थियो । तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आ–आफ्नो पद छाड्ने पक्षमा नरहेको नेताहरू बताउँछन् ।
अध्यक्षहरू पद छाड्न तयार नभएपछि जसपा नेपालका नेता रामकुमार शर्माले पार्टीबाटै राजीनामा दिएका छन् । नयाँ परिवेशमा नयाँ ढङ्गले अगाडि नबढे अबको राजनीति अगाडि बढ्न नसक्ने भन्दै उनले पुरानै तरिका र नेतृत्वले सङ्गठन चल्न नसक्ने बताए ।
पार्टी अध्यक्षहरू एवं वरिष्ठ नेताहरूलाई उच्च सम्मानसहित कुनै निश्चित स्थान बनाएर राख्नुपर्ने र नयाँलाई नेतृत्व दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मधेसी, थारु, जनजाति, खस, आर्यसमेतलाई समेटेर बृहत् पार्टी बनाउनुपर्नेमा उनले जोड दिए ।