वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ। चिकित्सा शिक्षासँगै स्वास्थ्य उपचारमा मेडिकल कलेजले आइएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको हो।
यस उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको कलेजले जनाएको छ। कलेजको व्यवस्थापन प्रणाली, कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत मूल्यांकनपछि उक्त प्रमाणीकरण प्रदान गरिएको हो।
आइएसओ ९००१ः२०१५ प्रमाणीकरणअन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक तथा अन्य सहयोगी सेवाहरू समेटिएका छन् । यसले संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको भनाइ छ।

अस्पताल व्यवस्थापनले उक्त प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न, कार्यप्रणाली व्यवस्थापनलाई प्रभावकारी बनाउन, प्रक्रिया–केन्द्रित तथा सेवाग्राही–केन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्त्वपूर्ण भूमिका खेल्ने अस्पतालको विश्वास छ।
‘आइएसओ ९००१ः२०१५ प्रमाणीकरण हाम्रो अस्पतालका लागि केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण हो,’ कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले भन्नुभयो। बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न कलेज निरन्तर प्रतिबद्ध रहने उनको भनाइ छ ।
अस्पताल नेतृत्वले आइएसओ प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर प्रयासरत रहने जनाएको छ ।