वीरगञ्ज । मालपोत कार्यालय पर्सामा नक्कली रसिद प्रयोग गरी सरकारी राजश्व छली गरिएको घटनामा एक लेखापढी व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्जस्थित ‘शुभ लाभ लेखापढी’का सञ्चालक ओमप्रकाश यादव रहेका छन्।
मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्रीका अनुसार यादवविरुद्ध ४ लाख ७२ हजार रुपैयाँ बराबरको राजश्व हिनामिना गरिएको भन्दै बुधबार कार्यालयमा लिखित उजुरी परेको थियो। उजुरीपछि कार्यालयले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली रसिद प्रयोग गरी सरकारी राजश्व छली गरिएको तथ्य फेला परेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको प्रमुख खत्रीले जानकारी दिए।
मालपोत कार्यालयको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले ओमप्रकाश यादवलाई पक्राउ गरेको हो। प्रहरीले उनीमाथि किर्ते रसिद तयार गरी सरकारी राजश्व हिनामिना गरेको आरोप लगाएको छ।
प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ। घटनापछि मालपोत कार्यालय पर्साले सेवाग्राहीलाई आधिकारिक रसिद र स्वीकृत भुक्तानी प्रक्रिया मात्रै प्रयोग गर्न आग्रह गरेको छ।
यस प्रकरणले सरकारी कार्यालयमै राजश्व संकलन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयवासीले निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।