काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् ।
सुनसरीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे ।
सरकारमा शक्तिको कारण जवाफदेहीता नदेखिएको भन्दै थापाले चिन्ता व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेर करिब दुई तिहाइको शक्ति प्राप्त गरेर सरकार चलाउने मेण्डेड पाएको भए पनि ठिक ढंगले नचलाएको बताए । विगतमा बहुमत प्राप्त गरेका सरकारले ठिक ढंगले सञ्चालन गर्न नसकेको स्मरण गर्दै थापाले जवाफदेही हुन आग्रह गरे ।
‘सरकार चलाउने जनमत रास्वपाले पाएकोमा सम्मान गर्छौँ,’ थापाले भने, ‘तर, सरकार जबाफदेही बन्नुपर्छ ।’ विगतमा सुविधाजनक जनक बहुमत प्राप्त गरेका कार्यकाल पुरा नभएको स्मरण गर्दै त्यस्तो नहोस् भन्दै शुभकामना दिए ।
करिब दुई तिहाइको जनमत र लोकप्रिय छु भन्दैमा संवैधानिक सीमालाई ख्याल गर्न थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे । ‘सरकारले हेक्का राखोस् संविधान र कानुनमाथि कोही पनि हुँदैन,’ थापाले भने, ‘शक्तिशाली र लोकप्रिय भन्दैमा जे पनि गर्न पाइँदैन ।’
पद र शक्ति छ भन्दैमा लहडका भरमा सुकुम्बासी बस्ती भत्काउन नपाइने थापाले बताए । ‘सरकारले बस्ती व्यवस्थित गरोस् हाम्रो साथ रहन्छ,’ थापाले भने, ‘कसैलाई रहर लाग्दैमा सुकुम्बासीको व्यवस्थापन नगरी बस्ती भत्काउन पाइन्छ ? अतिक्रमण भएको भए खाली गर्ने जिम्मेवारी भए पनि कानुनले तोकेको जिम्मेवारी अनुसार काम गर्न चेतावनी दिए ।
सरकारले उद्योगी, व्यवसायी, बैंकरलाई मनपरी पक्राउ गरेको भन्दै कांग्रेस सभापति थापाले आक्रोश पोखे । ‘मन्त्रीले बोलाउँदा भेट्ने समय नदिएको भन्दै निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाउने काम भयो,’ थापाले भने, ‘बैंकका सीईओलाई पनि बिना कारण पक्राउ गरेको खबर सुनियो ।’ चित्त नबुझेको खण्डमा जसलाई मन लाग्यो त्यसलाई पक्राउ नगर्न थापाले चेतावनी दिए । ‘कानुन विपरीतका कार्यमा असहमति रहेको र त्यस्ता कार्य दोहोर्याए कांग्रेसले प्रतिवाद गर्छ,’ थापाले भने । थापाले कांग्रेस जिउँदो रहेको भन्दै कमजोर नठान्न आग्रह गरे । ‘संख्या छ भन्दैमा सरकारले दम्भ नपालोस्,’ थापाले भने ।
नागरिकको जनजीविकामा गम्भीरता खै ?
सभापति थापाले आम नागरिकको जनजीविकासँग जोडिएको विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । मध्यपूर्वको संकटले नागरिकको दैनिक जीवनमा असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘इन्धनको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको छ,’ थापाले भने, ‘सामान्य श्रम गरेर आम्दानी गरेका नागरिकको भान्सा चलाउन हम्मे भएको छ । यसका लागि सरकारले काम गरोस् ।’
ढुवानी खर्च र लागत खर्च बढेकाले दैनिक उपभोग्य वस्तुको भाउ बढेको बताउँदै भान्सा थेग्न नसक्ने अवस्थामा पुगेको थापाले बताए ।
सहकारीबाट पीडित बनेकाहरूलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था भए पनि सरकारले केही करोड निकासा गरेको भनेर लोकप्रियतामा रमाउन खोजेको आरोप लगाए । स्वास्थ्य बीमामा देखिएको समस्या समाधान गर्न कांग्रेस सभापति थापाले आग्रह गरे । सीमा क्षेत्रमा सय रुपैयाँभन्दा बढी सामानमा कडाइ गर्दा सीमा क्षेत्रका नागरिक समस्यामा परेको भन्दै यो विषयमा संवेदनशील बन्न आग्रह गरे । जनजीविकाका सवालमा सरकारले आह्वान गरेमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए ।
संविधान संशोधनलाई खेलाँची नठान
सभापति थापाले सरकारले अहिले संविधान संशोधन गर्न गठन भएको कार्यदलप्रति प्रश्न उठाउँदै संविधान संशोधनको विषयलाई खेलाँची नठान्न आग्रह गरे । २०७२ को संविधानमा नेपालीको भावना जोडिएको बताए ।
विविधता भएको समाजका भावनालाई ठिक ढंगले संवोधन गरिएन भने दुर्घटना हुन सक्ने भन्दै संविधान संशोधनको बहसमा कांग्रेसको पनि सरोकार भएको बताए ।
थापाले भदौ २४को घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
‘भदौ २३ र २४ जेनजी आन्दोलन भयो । पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति पनि बन्यो,’ थापाले भने, ‘समितिले २३ गतेको विषयमा प्रतिवेदन दिएर कारबाही प्रक्रिया अघि बढाएको भए पनि भदौ २४ को घटना पनि छानबिन हुनुपर्छ ।’
‘भाद्र २४मा सबैभन्दा धनजनको क्षति पुगेको छ,’ सभापति थापाले भने, ‘दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’ जेनजी आन्दोलनको बारेमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न उनले माग गरे ।