काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व त्यागेर पार्टी पुनर्गठनमा सघाउन दबाब ढेको छ । शुक्रबार ४ उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शनिबार बस्ने गरी शुक्रबारको बैठक समापन भएको थियो । आजको बैठकमा थप केही पदाधिकारीले राजीनामा माग्ने तयारी गरेको एक पदाधिकारीले बताए ।
शुक्रबारकै बैठकमा पनि अध्यक्ष ओलीले तत्काल केन्द्रीय कमिटी बैठक बसेर सचिवालय बैठकका मागबारे छलफल गर्न सकिने भनेका थिए । केन्द्रीय कमिटीभित्र आफू बहुमतमा रहेको ओलीको विश्वास छ ।
मंसिरको ११ औँ महाधिवेशनमा ओली पक्ष भएर उपाध्यक्ष निर्वाचित विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ खुलेर ओली बहिर्गमनको पक्षमा देखिदा ओलीकै निम्ति उक्त दृश्य ‘सरप्राइज’ भएको थियो । ती पदाधिकारीले बताएअनुसार आज थप ‘सरप्राइज’ को तयारी छ ।
यदि महासचिव शंकर पोखरेलको ‘लाइन’ पाएमा सचिवहरु हिक्मत कार्की, भानुभक्त ढकाल र डा. राजन भट्टराई पनि बहिर्गमन पक्षधरका रूपमा पेश हुनसक्छन् । यद्यपि पदाधिकारीबीच चलेको चर्चाअनुसार शुक्रबारको बैठकमा उपाध्यक्षहरुको प्रस्तुतिपछि अध्यक्ष ओली र महासचिव पोखरेलबीच अलग्गै कुराकानी भएको थियो । कुराकानीका कारण पोखरेल रोकिन्छन् कि रोकिँदैनन् भन्ने कुरा आजको बैठक शुरूवातबाटै झल्किनेछ ।
उपमहासचिवद्वय रघुवीर महासेठ र योगेश भट्टराई कसैको ‘लाइन’ बिना नै बहिर्गमनको पक्षमा उभिने भएका छन् । महासचिव पोखरेलको लाइन नपाए पनि सचिव कार्कीले बहिर्गमन पक्षमा उभिएर ‘रिक्स’ लिने मनस्थिति बनाएको ती पदाधिकारीले बताए ।
उपमहासचिव लेखराज भट्ट हालसम्म ‘मध्यमार्गी’ छन् । बहिर्गमन पक्षधर नेताहरूले उनीसँग कुरा गर्दा उनको जवाफ थियोे, ‘जे गर्दा पार्टीको हित हुन्छ, म त्यतै हुन्छु ।’
सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल उपाध्यक्ष विष्णु पौडेलसँग निरन्तर संवादमा रहेका कारण उनी पनि आजको बैठकमा बहिर्गमन पक्षधरका रूपमा खुल्नसक्ने अनुमान गरिएको अर्का एक पदाधिकारीले बताए ।
कार्यविभाजनमा विदेश विभाग प्रमुखमा प्रस्तावित पूर्वसचिव प्रदीप ज्ञवालीले जिम्मेवारी अस्वीकार गर्दै नेतृत्व रुपान्तरण पक्षमा आफूलाई पेश गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
नेपाल प्रेसले नेतृत्व बहिर्गमन पक्षधर एक सम्भावित पदाधिकारीलाई यसबारे प्रश्न गर्दा बैठकको कुरा बैठकभन्दा अगाडि नगर्ने बताए । तर, पार्टीको भित्री अवस्था उनले बाहिरी अनुमानभन्दा फरक रहेको उनको भनाइ छ । ओलीको पक्षमा पदाधिकारीमा दृढतापूर्वक उभिनेमा उपाध्यक्ष रामबहादुर थापा बादल, महेश बस्नेत र खगराज अधिकारी देखिएका छन् ।
रुपान्तरण अभियान के गर्दैछ ?
एमाले रुपान्तरण अभियानले महाधिवेशन प्रतिनिधिको बहुमत विशेष महाधिवेशन र नेतृत्व रुपान्तरणको पक्षमा रहेको दावी गरेको छ । अभियानमा सामेल राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाहीले पार्टीका शीर्षदेखि विभिन्न तहका नेताहरूसँग समन्वय भइरहेको बताए । नेताहरूले हस्ताक्षर पेश गर्नु भनेको अवस्थामा पार्टी रुपान्तरणका पक्षमा महाधिवेशन प्रतिनिधिको बहुमत निश्चितप्रायः रहेको उनको भनाइ छ ।
अभियानमा बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, राष्ट्रिय युवा संघका उपमहासचिव शाही, अनेरास्ववियुका उपमहासचिव कमल जोशीलगायत सक्रिय छन् ।