वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज–पर्सा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले वीरगञ्जका डेरी उद्योगमा बजार अनुगमन गरेको छ।
टोलीले वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवास्थित डेरी फ्रेश उद्योग तथा वडा नं. १७ मा रहेको फ्रेस पूजा घ्यू प्रोडक्ट मा अनुगमन गरेको हो। अनुगमनका क्रममा दुवै उद्योगमा उत्पादन तथा बिक्री भइरहेका दुग्धजन्य सामग्रीको लेबल, सरसफाइ, गुणस्तर र मापदण्डको अवस्थाबारे निरीक्षण गरिएको थियो।
अनुगमनमा सहभागी एक सदस्यका अनुसार फ्रेस पूजा घ्यू प्रोडक्टमा निरीक्षणका क्रममा कुनै गम्भीर त्रुटि फेला परेको छैन। टोलीले उद्योग सञ्चालकलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशनसमेत दिएको जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण टोली संयोजक जगत प्रकाश चौधरी, सदस्य श्रवण कुमार साह तथा वाणिज्य कार्यालयका मधुरेश प्रसाद साहको सहभागितामा अनुगमन गरिएको थियो। त्यसैगरी उपभोक्ताका तर्फबाट प्रकाश कुमार शाह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव एसके चौरसिया र पत्रकार बैजु झाको पनि उपस्थिति रहेको थियो।
फ्रेस पूजा घ्यू प्रोडक्ट विशेषगरी पूजापाठमा प्रयोग हुने तथा डेरी फ्रेश उद्योगद्वारा उत्पादन गरिएको घ्यू खान योग्य रहेको उद्योग सञ्चालक राजाबाबु चौरसियाले जानकारी दिए।
अनुगमन अधिकृत सुनिल चौरसियाका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइनेछ। साथै उद्योगी तथा व्यवसायीलाई खाद्य ऐन तथा नियमअनुसार उत्पादन र बिक्री वितरण गर्न आग्रह गरिएको छ।